सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले दार्चुलाको महाकाली नदी क्षेत्रमा नेपाली भूमि मिचेर भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपाली भूमि मिचेर भारतले तटबन्ध निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले दार्चुलाको महाकाली गाउँपालिका ४ र ५ नम्बर वडामा नेपाली भूमि मिचेर तटबन्ध बनाइरहेको बताए । ‘२०७० सालमा धेरै ठूलो बाढी महाकाली नदीमा आयो । त्यसले दुवैतिरको सीमा क्षेत्रमा ठूलो क्षति भएको छ । महाकाली नगरपालिका- ४ र ५ नम्बर वडामा सरकारी कार्यालय पनि थिए । त्यो कार्यालयसहितको भू-भाग नदीको धार परिवर्तन हुँदा भारततिर गएको अवस्था हो । र, अन्य कुनै ठाउँमा भारतको जमिन हाम्रो ठाउँमा पुगेको अवस्था पनि थियो,’ उनले भने ।
तटबन्ध निर्माण गर्दा भारतले नेपालसँग कुनै समन्वयसमेत नगरेकाले विवाद भएको उनले बताए । ‘यो बाढी आइसकेपछि तटबन्ध निर्माण गर्दा समन्वय हुन नसकेको भन्ने देखिन्छ । अहिले त्यो तटबन्धका कारण धेरै ठूलो जमिन पारी गइसकेको छ । भारतले नदीलाई नेपालतिर फर्काउने गरी तटबन्धको काम थालेपछि जनस्तरमा पनि विरोध भयो,’ बडूले भने ।
यसबारेमा सरकारले गम्भीरतापूर्वक नलिए परिस्थिति बिग्रिने उनले बताए । ‘कूटनीतिक पहलमार्फत यो समस्या समाधान गर्न सरकार तत्काल लागोस् । यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । त्यसो गरिएन भने परिस्थिति अझ बिग्रिने हामीले देखेका छौँ,’ बडूले भने ।
प्रतिक्रिया