धनगढी । सशस्त्र प्रहरीले सुदूरपश्चिम प्रदेशमा निर्वाचन सुरक्षा योजना कार्यान्यवनमा ल्याएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा योजना बनाएर कार्यान्यवनमा ल्याइएको हो ।
सुरक्षा योजनाअनुसार प्रदेशका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी परिचालन भइसकेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइएको बताए ।
‘हालसम्म निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय र मतदान अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिसकेका छौं,’ एसएसपी सुवेदीले भने, ‘माघको २१ गतेदेखि प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने तयारी छ । उक्त बेस डीएसपीको कमाण्डमा रहने छ ।’
फागुन ६ गतेदेखि सशस्त्र प्रहरीको मोबाइल टोली पनि परिचालन हुने एसएसपी सुवेदीले बताए । ‘रिजर्व र क्यूआरटी टोली पनि तयारी अवस्थामा राख्नेछौं,’ एसएसपी सुवेदीले भने, ‘बाहिनीमा प्रदेशस्तरीय रिजर्व र अनुगमन टोली पनि बनाएका छौं ।’ एसएसपी सुवेदीले प्रदेशभर पाँच हजार एक सय सय सशस्त्र प्रहरी निर्वाचनको अवधिमा परिचालन गर्ने तयारी रहेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा कुल एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । यस्तै ३०० सामान्य र ३९५ संवेदनशील मतदानस्थल छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील छन् ।
प्रतिक्रिया