ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराका १८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

मङ्गलबार २०, माघ २०८२ ०९:१४

बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभरका एक हजार ८०६ जना किशोरीलाई यो खोप लगाउने तयारी पूरा भएको छ ।

यही माघ २७ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने यस अभियानमा विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेटिने छ । स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काका अनुसार जिल्लाका कक्षा ६ मा अध्ययनरत एक हजार ७८१ र विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई खोप दिइने लक्ष्य राखिएको छ ।
विद्यालय बाहिर रहेका किशोरीहरुमध्ये बुढीगङ्गामा १६, बडीमालिकामा ६ र त्रिवेणी नगरपालिकामा एक जना रहेका छन् । गत वर्ष जिल्लामा अभियानका रूपमा सात हजारभन्दा बढी किशोरीलाई यो खोप लगाइएको थियो । यस वर्षदेखि भने यसलाई सरकारले नियमित खोप तालिकामा समावेश गरेको छ ।

खोप केन्द्र र समयतालिका
जिल्लाका नौवटै स्थानीय तहमा विद्यालयमै खोप केन्द्र स्थापना गरिने छ । विद्यालय जान नपाएका किशोरीका लागि नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

• माघ २७ गते: गौमुल गाउँपालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका ।
• माघ २८ गतेदेखि: स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिका ।
• माघ २९ गतेदेखि: हिमाली गाउँपालिका ।

किशोरी अवस्थामा दिइने यो खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । गत वर्ष बाजुरामा ९८ प्रतिशत किशोरीले यो खोप लगाएका थिए ।

प्रतिक्रिया