टीकापुर । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै कैलालीको टीकापुरमा एमपीको हेल्थी किचेन सञ्चालनमा आएको छ । स्थानीय मोहनप्रसाद जैशीले उपभोक्तालाई स्वस्थ खानेकुरा खुवाउने उद्देश्यले डेढ करोडको लागतमा हेल्थी किचेन सञ्चालन गरेका हुन् ।
उनले हेल्थी किचेनमा पाइने खानेकुरा बजारमा पाइने तेलमा नभई शुद्ध तोरीको तेल र घ्युमा पकाइने बताए । उनले तारेको खानेकुरा हेल्थी किचेनमा नपाइने जानकारी दिए । ‘हामीले तेलमा तारेको भन्दा ओभनमा पोलेको खानेकुरा उपलब्ध गराउने गरेका छौं,’ उनले भने, ‘हाम्रो प्राथमिकता नै उपभोक्ताको स्वास्थ्य हो । यसमा कुनै कम्प्रमाइज हुँदैन ।’
हेल्थी किचेनमा कुनै प्याकिङ जुस उपलब्ध छैन । ग्राहकले फलफूलबाट तत्कालै उपलब्ध गराइने फ्रेस जुस पिउन पाउने व्यवस्था छ । जैशीका अनुसार अन्य पेय पदार्थसमेत हेल्थी किचेनले उपलब्ध गराउँदैन । उनले हेल्थी किचेनलाई दुई भागमा विभाजन गरेका छन् । भुईतलामा किचेन र पारिवारिक वातावरणमा बस्न मिल्ने व्यवस्था छ भने माथिल्लो तलामा रेस्टुरेन्ट रहेको छ ।
जैशीले रेस्टुरेन्ट व्यवसायमा प्रवेश गरेको २५ वर्ष भयो । उनी आफै सेफ समेत हुन । उनले १२ वर्ष कुवेतमा बिताए । जहाँ साथीहरुसँग मिलेर चार वर्ष आफै चौतारी रेस्टुरेन्ट चलाए । उनी सपरिवार कुवेतमा बस्थे । आम्दानी पनि राम्रै थियो । लामो समयदेखिको विदेश बसाई छोडेर उनी ०७० मा सपरिवार नेपाल फर्किए ।
उनले त्यतिबेलै टीकापुरमा रेस्टुरेन्ट व्यवसाय सुरु गर्ने सोच बनाएका थिए । ०७२ मा टीकापुर घटना भयो । लगानीको वातावरण बनेन् । उनले साथीहरुसँग मिलेर धनगढीमा ग्यालेक्सी रेस्टुरेन्ट सुरु गरे । पछि ग्यालेक्सीको शाखा काठमाडौं, बुटवल र टीकापुरमा समेत सञ्चालनमा आए ।
कोभिडले सबैतिर समस्या पार्यो । टीममा समस्या आयो । उनले सरसल्लाहमै ग्यालेक्सी छोडे । कुवेतको बसाई छोडेर स्वदेशमै केही गर्ने सोचका साथ फर्केका जैशी पुनः भारतको दिल्ली पुगे । दुईजना मिलेर दिल्लीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याए । उनी दिल्ली भए पनि मन भने स्वदेशमै थियो । दिल्लीको रेस्टुरेन्ट साथीको जिम्मा छोडेर उनी टीकापुर फर्किए ।
साथीहरुबाट केही फरक गर्न सके राम्रो हुने सुझाव पाए । उनले फरक भनेको उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर रेस्टुरेन्ट व्यवसाय सुरु गर्नुलाई आफ्नो उद्देश्य बनाए । ‘बजारमा जताततै अस्वस्थ खानेकुरा छ । यो भिडमा स्वस्थ खानेकुरा दिनु नै अरु भन्दा फरक हुनु हो,’ उनले भने, ‘यही उद्देश्य राखेर अघि बढ्ने सोच बनाए ।’
उनले १३ जना स्थानीयलाई रोजगारी दिएका छन् । उनका अनुसार रेस्टुरेन्ट व्यवसायमा सम्भावना र चुनौती दुबै छन् । केही व्यक्तिको व्यवहारका कारण रेस्टुरेन्टको माहौल बिग्रन्छ । उनले हरेक लगानीकर्ताको पीडालाई सबैले महसुस गरेर व्यवहार गरिदिन आग्रह गरे । ‘मलाई मात्रै हैन । एकले अर्कोलाई सहयोगको व्यवहार गरौं । कसैले कसैलाई असहयोग नगरौं,’ उनले भने, ‘सबैसँग यही आग्रह छ ।’
उनले केही दिनभित्रै अर्गानिक खानेकुरा समेत उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार कोदो, मकै, फापर, जौबाट बनेका खानेकुरा हेल्थी किचेनमा उपलब्ध हुनेछन् । उनले स्थानीय सरकारले बेलाबेलामा उपभोक्ताको स्वास्थ्यसँग प्रत्येक्ष जोडिएको रेस्टुरेन्ट व्यवसायमा अनुगमन गर्नुपर्ने बताए । राज्य पक्षले अनुगमन गर्दा उपभोक्ताले स्वस्थ खानेकुरा उपभोग गर्न पाउने उनको भनाई छ । उनले राज्य उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरे ।
प्रतिक्रिया