ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्वदेश फर्कियो मुख्यमन्त्री शाह नेतृत्वको टोली, भारतमा कोसंग के भयो कुराकानी ?

मङ्गलबार २३, बैशाख २०८२ ०७:१६

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली भारत भ्रमण सकेर मंगलबार स्वदेश फिर्ता भएको छ । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली उत्तर प्रदेशको राजधानी लखनउबाट स्थलमार्ग भएर स्वदेश फिर्ता भएको हो ।

मुख्यमन्त्री शाह नेतृत्वको टोलीलाई कार्यबाहक मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा लगायतले कैलालीको त्रिनगर नाकामा स्वागत गरेका थिए । 

मुख्यमन्त्री शहको भारत भ्रमण १६ बैशाखदेखि भारतको नयाँ दिल्लीबाट सुरु भएको थियो । भारत भ्रमण निकै फलदायी भएको बताउँदै मुख्यमन्त्री शाहले भ्रमणले दुई देशको प्रदेशस्तरबाट सम्बन्ध थप सुदृढ बनाउन टेवा पुगाउने दाबी गरे । भ्रमणका क्रममा भारत सरकारका विदेश राज्यमन्त्री किर्तीवर्धन सिंह, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्डका राज्यपाल गुरमित सिंहसंगै उत्तराखण्डका वन, पर्यटन र कृषिमन्त्रीसंग भेटवार्ता भएको मुख्यमन्त्री शाहले बताए ।

‘भारत भ्रमणका क्रममा सुदूरपश्चिमको पहिचान, चुनौती र सम्भावनालाई अन्तर्राष्टिय रुपमा पहिलोपटक संस्थागत रुपमा प्रस्तुत गर्ने अवसर मिलेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘सीमा सुरक्षा, आप्रवासी नेपालीको सुरक्षासंगै सुदूरपश्चिमको विकास निर्माणका विषयमा भारत भ्रमणका क्रममा छलफल भएको छ ।’

भारतका विदेश राज्यमन्त्री सिंहसंग नेपालको संघीय संरचना र सुदूरपश्चिम प्रदेशको अवस्थाबारे अवगत गराउनुका साथै प्रदेशस्तरको संयन्त्रमार्फत सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मुख्यमन्त्री शाहले बताए । 

उत्तराखण्डका मुख्यमन्त्री धामीसंग दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जोड्ने पुल निर्माण, सीमापार आपसी व्यापार र आवतजावत सहजताबारे छलफल भएको बताउँदै मुख्यमन्त्री शाहले प्रदेशस्तरमा सम्बन्ध स्थापनाका विषयमा पनि चर्चा भएको बताए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसंग सीमा क्षेत्रको सडक सुधार, लागूऔषध नियन्त्रण र सुदूरपश्चिमको विकासमा गर्न सकिने सहयोगका विषयमा छलफल भएको मुख्यमन्त्री शाहले बताए । 

भ्रमणका क्रममा टोलीले विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसनमा अन्तरक्रिया, एनएचपिसीका पदाधिकारीसंग छलफल, टिहरी बाँधको अवलोकन, लोकसभा र उत्तरप्रदेश विधानसभामा अवलोक गरेको थियो ।

भ्रमण टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य झपटबहादुर साउँद लगायत थिए । 

प्रतिक्रिया