ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सल्टिएन माओवादी कलह, प्रचण्डसंगको बैठक स्थगित

बुधबार २४, बैशाख २०८२ ०३:५१

धनगढी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सुदूरपश्चिम प्रदेशका माओवादी सांसदको हुने भनिएको बैठक स्थगित भएको छ । गत वर्ष फागुनदेखि संसदीय दलको नेताका विषयको विवादबारे छलफल गर्न प्रचण्डले मंगलबार माओवादीका सुदूरपश्चिम प्रदेशका सबै सांसदहरूलाई खुमलटार बोलाएका थिए । 

१ बजे हुने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ सांसद खगराज भट्टले बताए । बुधबार बिहान ९ बजे प्रचण्डले सबै सांसदहरूलाई छलफलका लागि बोलाएका थिए । फेरि दिउँसो १ बजे बस्ने सूचना दिइएको थियो । गएराति प्रचण्ड लडेर चोट लागेपछि  बैठक स्थगित भएको हो । 

प्रचण्डले दिएको निर्देशन पाँचपटकसम्म पनि कार्यान्वयन नभएपछि फेरि २४ वैशाखका लागि बैठक बोलाएका छन् । 

गुटको लडाइँ
खगराज भट्टलाई नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको नेता बनाउने निर्देशन पार्टीको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको तीन महिना पुगिसकेको छ । १२ असार २०८१ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेललाई लिखित निर्देशन दिँदै भट्टलाई दल नेता बनाउन भनेका थिए ।

उक्त निर्देशन कार्यान्वयन नभएपछि केन्द्रीय समितिको छैटौँ बैठकले उक्त निर्देशन अनुमोदन गरेको हो । ‘मिति २०८१–३–१२ चलानी नम्बर २४४ को यस केन्द्रीय कार्यालयबाट सुदूरपश्चिम प्रदेशसभा दल नेतासम्बन्धी जारी गरिएको निर्देशनलाई केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक (पुस २१–२३) ले अनुमोदन गरेको हुँदा उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्न÷गराउन निर्देशन गरिएको छ,’ मंगलबार प्रचण्ड र गुरुङले सुदूरपश्चिम इञ्चार्ज पोखरेललाई पठाएको सर्कुलरमा भनिएको थियो । 

नेकपा माओवादी (केन्द्र) सुदूरपश्चिम संसदीय दलमा ०८० माघदेखि विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराजलाई हटाएर मानबहादुर धामीलाई  नेता चयन गरिएपछि माओवादीभित्रको विवाद सतहमा आएको थियो । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउँद मात्रै देखिए । तर, अहिले ओली भट्ट समूहमा छन्, जसका कारण अहिले भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद छन् ।

संसदीय दलको नेता धामीलाई बनाएको पाँच महिनापछि असारको पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनस्र्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए । त्यो निर्देशन संसदीय दलले कार्यान्वयन गरेन ।

दोस्रोपटक प्रचण्डले फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए । त्यो पनि लागू भएन । केन्द्रले २ भदौमा दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएको थियो । तर, त्यो निर्देशन पनि कार्यान्वयन भएन ।

१३ भदौमा प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराजलाई बनाउन चौथोपटक निर्देशन दिए । धनगढीमा बसेको पार्टीको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । उक्त निर्देशनपछि पनि दल नेता फेरिएनन् ।

गतवर्ष १४ फागुनमा पाँचौँपटक खुमलटार बोलाएर प्रचण्डले सांसदलाई भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएका थिए । त्यहीँ निर्देशनको १५ दिनपछि दलको छलफल भएको थियो । उक्त छलफलमा भट्ट पनि सहभागी भएका थिए । तर, कुनै समाधान निस्केन । 


संसदीय दलका नेता धामी उपमहासचिव वर्षमान पुन पक्षका हुन् । पुनले धामीलाई दलको नेता बनाउन भूमिका खेलेको चर्चा सुदूरपश्चिममा छ । सोही कारण अध्यक्ष प्रचण्डको निर्देशन नमान्नुमा पुनको भूमिका पनि महत्त्वपूर्ण रहेको सुदूरपश्चिमका माओवादी नेता बताउँछन् । खगराज भने जनार्दन शर्मा समूहमा छन् ।

यता खगराजको विरोधमा रहेका माओवादी सुदूरपश्चिम प्रदेशसभा सदस्यले उनलाई दलको नेता बनाउन सर्त राख्दै आएका छन् । ‘दल नेता धामी पक्षका केही प्रदेशसभा सदस्यले प्रचण्डलाई भेटेरै गिरिराजमणि पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएपछि हामी सहज रूपमा खगराजलाई दलको नेता बनाउन तयार हुन्छौँ भनेका थिए,’ माओवादी सुदूरपश्चिमका एक नेताले भने, ‘पोखरेलका कारण खगराज बलियो भएको आशय उनीहरूको थियो । तर, पोखरेललाई हटाउन पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तयार देखिएनन् ।’ 

प्रतिक्रिया