ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कांग्रेस–एमालेको गठबन्धनविरुद्व नेकपा, कसको मतभार कति ?

बुधबार २३, पुष २०८२ ०३:१५

धनगढी । सुदूरपश्चिममा दुई पदका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने उनीहरुका उम्मेदवारविरुद्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि उम्मेदवारी दिएको छ । कांग्रेसबाट खम्मबहादुर खाती तथा एमालेबाट लीलाकुमारी भण्डारीको मनोनयन दर्ता भएको हो । अन्य क्लस्टरबाट उम्मेदवार बनेका खाती पूर्वमहान्यायाधीवक्ता हुन् । महिला क्लस्टरमा उम्मेदवार बनेकी भण्डारी माओवादी पृष्ठभूमीकी नेतृ हुन् । उनी पूर्वराज्यमन्त्री हुन् । 

कांग्रेस–एमालेको गठबन्धनविरुद्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनारले उम्मेदवारी दर्ता गराएका हुन् । जैसी माओवादी पृष्ठभूमीका नेता हुन् भने बस्नेत एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा गएकी हुन् । छ वर्षअिघ निर्वाचित एमालेका शारदादेवी भट्ट र नेपाली कम्युनिस्ट पार्टीका तारामान स्वाँरको पदावधि सकिन लागेपछि उनीहरुको स्थानमा निर्वाचन भइरहेको हो । 

११ माघमा हुने निर्वाचनमा प्रदेशसभा सदस्यहरु, नगरप्रमुख र उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता गर्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ । सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार छ ।

१८ जना प्रदेशसभा सदस्य रहेको कांग्रेससँग स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख ८६ जना छन् । जसअनुसार कांग्रेसको मात्रै मतभार दुई हजार ६०७ छ । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी छ । एक प्रदेशसभा निलम्बनमा रहेका कारण उसको मतभार एक हजार ८१६ छ । एमालेको एक हजार ५३३ मतभार रहेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको ५३–५३ तथा स्वतन्त्रको ३८ मतभार रहेको छ ।

प्रतिक्रिया