ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा घुससहित वन अधिकृत पक्राउ प्रकरण : अदालतमा बयान फर्ने साक्षीविरुद्ध पनि मुद्दा

बिहिबार २४, पुष २०८२ ०४:५३

धनगढी । अदालतमा बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । बयान फेरेको अभियोगमा कैलालीको चुरे गाउँपालिका–६ का प्रेमसिंह ठगुन्ना र गोदावरी नगरपालिका–२ का किसनसिंह साउदविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले गत साउन ५ गते डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिर्माका तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि यादवविरुद्ध भदौ २ गते विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो । 

उक्त घुस रकम यादवलाई दिएका ठगुन्ना र साउदले अख्तियारसमक्ष बयान दिँदै घुस दिएको कुरा स्वीकार गरेका थिए । तर, विशेष अदालतमा बयान दिने क्रममा उनीहरूले आयोगमा दिएको बयानभन्दा विपरीत बकपत्र गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार मुद्दाको अनुसन्धानका क्रममा दिएको उजुरी बयान र कसुर स्वीकार गरेबापत प्राप्त हुने सजाय छुटको सुविधा विपरीत फरक तथा झुट्टा व्यहोरा लेखाई प्रतिकूल बकपत्र गरिएको पाइएको हो । यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत भएको आयोगको निष्कर्ष छ । 

अख्तियारले सात लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै ठगुन्ना र साउदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

प्रतिक्रिया