ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको चुरे क्षेत्रमा बढ्यो काठ तस्करी, वन कर्मचारीकै संलग्नता !

बिहिबार २४, पुष २०८२ ०५:०४

धनगढी । कैलालीको चुरे गाउँपालिकामा काठ तस्करी बढेको छ । पछिल्लो एक महिनाभित्रै डिभिजन वन कार्यालयले तस्करीका लागि चिरान गरी राखिएका ५५१ वटा कडी बरामद गरेको छ ।

डिभिजन वन कार्यालयका अनुसार तीन पटक छापा मार्दा ७९८ क्वीफिट काठ चिरान गरी लुकाइएको आवस्थामा फेला परेको थियो । डिभिजन वन कार्यालयले काठ बरामद गरे पनि काठ चिरान र तस्करीमा संलग्न व्यक्तिहरुलाई पहिचान गर्न सकेको छैन । 

कैलालीको चुरे गाउँपालिका–२, रानीभुकुडा वन क्षेत्रमा शनिबार चोरी तस्करी भएको आशंकामा छापा मार्दा झरना सामुदायिक वनमा २०० र त्रिवेणी सामुदायिक वनबाट ३१९ वटा कडी, फन्टा र फ्रेम बरामद भएको थियो । सवडिभिजन वन कार्यालय खैराला र डिभिजन वन कार्यालय कैलालीको संयुक्त टोलीले सो वन क्षेत्रमा छापा मारेर करिब ६ सय क्वीफिट काठ मरामद गरेको थियो । छापा मारेर काठ बरामद भए पनि काठ चिरान तथा चोरी तस्करीमा संलग्न व्यक्ति नभेटिएको सवडिभिजन वन कार्यालय खैरालाका वन अधिकृत समीर थापाले बताए । उनले वनमा रुख काटेर वनमै चिरान गर्न पावर चेन आरा प्रयोग गरिएको काठ फेला पारेको जनाए ।

डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामविचारी ठाकुरले घटनामा संलग्न व्यक्ति तथा समूहको खोजी भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानबाट काठ तस्करी गर्ने उद्देश्यले वन फँडानी गरिएको भेटिएको बताए ।

यसअघि, सोही टोलीले चुरे गाउँपालिकाकै वडा नं. ५ गजिन्ने क्षेत्रबाट पुस ६ गते ७० क्यूफिट सालको ११८ वटा कडी फेला पारेको थियो । डिभिजनल वन अधिकृत ठाकुरले तस्करीका लागि झाडीभित्र लुकाएर राखिएको अवस्थामा सो काठ फेला पारेको बताए ।

यसैगरी, चुरे–५ कै मौरी गाउँको बाँसपानी सामुदायिक वनबाट मंसिर २८ गते १२८ क्यूफिट चिरान काठ बरामद गरेको थियो । डिभिजन वन अधिकृत ठाकुरले सुराकीका आधारमा वन क्षेत्रमा छापा मारेर सिस्नुको झाडीमा लुकाएका २१० थान कडी र २३ थान फ्रेम बरामद गरेको बताए ।

पछिल्लो समयमा चुरेमा काठ तस्करी बढेको बताउँदै तस्करीमा संलग्न व्यक्तिको खोजी भइरहेको डिभिजन वन अधिकृत ठाकुरले बताए । उनले छिट्टै तस्करीमा संलग्न समूहलाई पक्राउ गरी कारबाही गरिने बताए । 

चुरे क्षेत्रमा हुने तस्करीमा वन कर्मचारीकै संलग्नता हुने गरेको पनि आरोप लाग्दै आएको छ । बेलाबेला वन कर्मचारी पक्राउ पनि पर्ने गरेका छन् । गत साउन ५ गते अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिर्माका तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि अख्तियारले गरेको थियो । वन कर्मचारीले घुस रकम लिएर तस्करीलाई मलजल गरिरहेको आरोप लाग्ने गरेको छ । 
 

प्रतिक्रिया