ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एसपीए कलेजको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

बिहिबार २५, बैशाख २०८२ ०४:०८

धनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो  ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको छ। बुधवार कलेज र कुँवरबिच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो ।

कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सम्झौता पत्र हस्तान्तरण गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न यो कदम चालेको बताए । शाहीले खेल क्षेत्रको विकासमा सुदूरपश्चिमका संघ–संस्थाले यस्तै योगदान दिनुपर्ने समेत उल्लेख गरे ।

ब्रान्ड एम्बेसडर नियुक्त भएकी कुँवरले आफूले अध्ययन गरेको प्रतिष्ठित संस्थाको प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको प्रतिक्रिया व्यक्त गरिन् ।

कविता कुँवरले सन् २०१९ मा नेपाली महिला राष्ट्रिय टोलीबाट टी-२० अन्तर्राष्ट्रिय खेलमार्फत् आफ्नो क्रिकेट यात्रा सुरु गरेकी थिइन् । उनले चीनविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गरेकी हुन् ।

उनले हालसम्म ५२ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्। २०२२ मा युगाण्डासँगको टी-२० श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमा ७ विकेट लिएकी थिइन्। नेपाल पुलिस क्लबका लागि खेलेको क्यान राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समेत उनको प्रदर्शन उत्कृष्ट रह्यो।
 
कुँवर अछामको साँफेबगरमा जन्मिएकी हुन् । उनले कैलालीको धनगढीस्थित मामाघरमा बसेर स्कुल पढेकी थिइन् । दस वर्षको उमेरमा क्रिकेटप्रति रुचि बढ्दै गएपछि उनले प्रशिक्षण सुरु गरेकी हुन् ।

कलेजले गत कार्तिकमा राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशीलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’का रूपमा नियुक्त गरीसकेको छ ।  उनी धनगढी क्रिकेट एकेडेमी (डीसीए) का उत्पादन र एसपीए कलेजका पूर्वविद्यार्थीसमेत हुन ।

कलेजले खेलाडीको सम्मानमा उनीहरूको खेल जीवन सहज बनोस् भन्दै सहयोग पुगोस् भन्ने हेतुले यो कार्य गरेको र उनीहरूले सुदूरपश्चिमको टिमको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलुन्जेल सम्झौता लागु हुने गरी सम्झौता गरिएको जनाएको छ ।

प्रतिक्रिया