टीकापुर । कैलालीको टीकापुरमा आयोजित दुईदिने बहुविषयमा आधारित अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । टीकापुर बहुमुखी क्याम्पसले आयोजना गरेको सम्मेलनले नेपालको शैक्षिक क्षेत्रको सुधारमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।
सम्मेलनमा प्रस्तुत कार्यपत्र माथिको छलफलमा विषयविज्ञहरुले आगामी दिनमा तल्लो तहले दिएको सुझावका आधारमा सम्बन्धित पक्षले शिक्षाको नीति बनाइनुपर्नेमा जोड दिए । उनीहरुले माथिल्लो तहले लादेको शिक्षा नीतिले देशको शैक्षिक क्षेत्रको अवस्था क्रमिक रुपमा बिग्रिदै गएको बताएका छन् । उनीहरुले सम्मेलन शैक्षिक क्षेत्रको विकासमा सहयोगी बन्ने अपेक्षा गरेका छन् ।
सम्मेलनले विद्यार्थीको रुचि र क्षमताका आधारमा शिक्षा दिइनुपर्ने निष्कर्ष समेत निकालेको छ । परिवेशअनुसारको शिक्षा भए मात्र विद्यार्थी लाभान्वित हुने भन्दै सम्मेलनले आयातित शिक्षालाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
टीकापुर बहुमुखी क्याम्पस अन्तर्गतको अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु पौडेलले सम्मेलनमा विभिन्न विषयविज्ञहरुले ६९ वटा कार्यपत्र प्रस्तुत गरेको जानकारी दिए । उनले तीमध्ये प्रा.डा. विद्यानाथ कोइराला र सिनासका निर्देशक डा. मेगेन्द्रबहादुर कार्कीले दुईवटा मुख्य कार्यपत्र प्रस्तुत गरेको बताए ।
देशभरका विभिन्न आठ वटा विश्वविद्यालयका प्रतिनिधि सहभागी रहेको सम्मेलनमा दुईवटा समूहमा छलफल गरिएको थियो । दुईवटा समूहलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, मध्यपश्चिम विश्वविद्यालयका डा. यदु ज्ञवाली र सुदूरपश्चिम विश्वविद्यालयका डा. दीपकचन्द्र भट्टले सहजिकरण गरेका थिए ।
सम्मेलनमा पहिलो दिन शुक्रबार २५० र दोस्रो दिन शनिबार २०० जनाको सहभागीता रहेको थियो । सम्मेलनको एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया