डोटी । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका भूकम्पबाट प्रभावित जिल्लाहरूमा विस्तृत क्षति आकलनको काममा तीव्रता दिएको छ । विभिन्न निकायसँग सम्झौता गरी काम अघि बढाइएको प्राधिकरणका प्रवक्ता, उपसचिव रामबहादुर केसीले जानकारी दिए । आफूसहितको टोली हाल क्षति आकलनकै सिलसिलामा पश्चिम नेपाल खटिएको उनले बताए ।
त्यसक्रममा डोटी भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलनका लागि प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र विश्वविद्यालयको इञ्जिनियरिङ विभागका डिन प्राडा किसनदत्त भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेको केसीले जानकारी दिए ।
उनका अनुसार विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएर छ दशमलव छ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यसबाट क्षति भएका डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुरामा बाँकी १३ हजार ५७६ परिवारका निजी घरको क्षति आकलनका लागि विश्वविद्यालयले ३१ जना इञ्जिनियर खटाउनेछ । यसअघि, गत चैत ३१ गते जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको थियो ।
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासमध्ये विस्तृत क्षति आकलन गर्न बाँकी करिब २८ हजार घर छन् । क्षति मूल्याङ्कन गर्न प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोग एवं मध्यपश्चिम विश्वविद्यालयको सहजीकरणमा छनोट भएका ८५ जना इन्जिनियरलाई तालिम तथा अभिमुखीकरण सुरु भएको छ । त्यहाँ ११८ जना फिल्डमा खटिरहेका छन् ।
कर्णाली प्रदेशमा सोमबारसम्म हुने दुईदिने तालिमपछि प्राविधिकहरू क्षति आकलन गर्न बाँकी जाजरकोट र रुकुम (पश्चिम) का पालिकामा खटिने प्राधिकरणले जनाएको छ । त्यसअघि, विस्तृत क्षति आकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पसबीच सम्झौता भई तोकिएको क्षेत्रमा क्षति आकलनको काम सम्पन्न गरिएको थियो । रासस
प्रतिक्रिया