धनगढी । अविरल वर्षाका कारण डडेल्धुरा-डोटी जोड्ने केआइसिंह राजमार्गमा राति गाडी चलाउन रोक लगाइएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रुडुवा खोलामा निरन्तर पहिरो खस्न थालेपछि गाडी चलाउन रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बेलुका ७ बजेदेखि बिहान साढे ५ बजेसम्म रात्रिकालिन यात्रा बन्द गरिएको सूचना जारी गर्दै जानकारी दिएकी छिन् । अर्को सूचना जारी नभएसम्म रात्रिकालिन यात्रा बन्द गरिएको सूचनामा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना भएकाले नदी तथा खोलाको सतह बढ्ने, बाढीपहिरोको जोखिम उच्च हुने भएकोले नदी/खोला तथा तटीय क्षेत्र वरिपरिका बस्तीहरू र जोखिमयुक्त क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया