धनगढी । बस्तीभर खर र परालको छानो भएका घर । गर्मी मौसममा बेलाबेला हुने आगलागी अनी धनजनको क्षति भएका घटना । आर्थिक अभावले खरको छानो फेर्न नसकेको गुनासो । पाँच वर्षअघिसम्म यस्तै थियो, डोटीको बोगटान गाउँपालिकाको अवस्था ।
तर, अहिले अवस्था फेरिएको छ । विगतमा गाउँपालिकामा निम्न आय भएका सात सय घरधुरीको छानो खर र परालका थिए । अहिले गाउँपालिकाको बजेटमा खर र परालको छानो हटाएर एउटै रंगका जस्ता लगाइएको छ ।
जस्ताको छानो लगाउनअघि यस्ता थिए बोगटानका घर, फोटो : महेन्द्र बम
गाउँपालिकाका प्रशासकीय अधिकृत भरतबहादुर चन्दका अनुसार खरको छानामुक्त घर बनाउने अभियानअन्तर्गत गाउँपालिकाले विपन्न परिवारमा लगानी गरेको हो । ‘खर र परालको छानो हुँदा सधैँ विपद्को जोखि हुने गरेको थियो,’ उनले भने, ‘अहिले घरको छानोमा जस्ता लगाइएपछि सुरक्षाको दृष्टिकोणले निकै प्रभावकारी भएको छ ।’
गाउँपालिकाले जस्ताको छानो लगाउनका लागि प्रति परिवार ४० हजार रुपैयाँ दिएको थियो । अहिलेसम्म छ सय ५० घरधुरीमा जस्ताको छानो लगाइसकिएको बोगटान फुडसिल गाउँपालिकाले जनाएको छ ।
रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा परालले छानो छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिएको पालिका अध्यक्ष कमल गड्सिलाले बताए । ‘निम्न आय भएकाको घरको छाना वर्षौंदेखि खर, पराल र गाजोले छाएका थिए,’ अध्यक्ष गड्सिलाले भने, ‘हामी निर्वाचित भएर आइसकेपछि खरको छानोमुक्त अभियान चिसो मौसम हुने तथा लेकाली क्षेत्रका ग्रामीण बस्तीबाट सुरु गरिएको थियो ।´
बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला
उनका अनुसार गर्मीमा आगलागी बढी हुने तथा बर्सातमा पानी चुहिने समस्याले न्यून आय भएका परिवार पीडामा थिए । अध्यक्ष गड्सिलाले भने, ‘अहिले बोगटानका घरहरु फेरिएका छन् । विपन्न परिवारका घरमा एउटै रंगको जस्ता लगाएका छौं ।’
एउटै रंगका जस्ताले छानो छाएपछि अहिले बोगटानका बस्तीहरुको सौन्दर्यसमेत बढेको छ । ‘जस्तापाताले घर छाउन थालिएपछि खरको छानो भएको एउटा घरमा आगलागी भए गाउँ नै जलेर खरानी हुने समस्या हटेको छ,’ स्थानीय कर्णबहादुर चन्दले भने, ‘गर्मी र बर्सातको समयमा त्रासमा दैनिकी काट्नुपर्ने बाध्यता पनि हटेको छ ।’
जस्ताको छानो लगाएपछि बोगटान गाउँपालिकाका बस्ती, फोटो : महेन्द्र बम
सुरक्षित मात्रै नभएर खरमुक्त घर अभियानले महिलाको कार्यबोझ पनि घटाएको चन्दले बताए । ‘पहिले खरको छानो हुँदा बर्सेनि महिलाहरु खर काट्नका लागि जंगलमा जानुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यस क्रममा भीरबाट लडेर मृत्यु भएको घटना पनि सार्वजनिक हुन्थे । अहिले जस्ताको छानो भएपछि त्यो बाध्यता हटेको छ ।’
विपन्न नागरिकको आवासलाई सुरक्षित बनाएर गाउँको मुहार फेर्ने अभियान अहिले पनि जारी रहेको अध्यक्ष गड्सिलाले बताए ।
प्रतिक्रिया