धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । भीमदत्त नगरपालिका–११ को गड्डाचौकी नाकाबाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–११ का २५ वर्षीय रामबहादुर बिष्ट, भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय समिर डगौरा र २१ वर्षीय राहुल चौधरी रहेका छन्।
उनीहरुलाई विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो । भारतबाट नेपालतर्फ पैदल हिँडिरहेका रामबहादुर बिष्टलाई शंका लागी रोकी चेकजाँच गर्दा उनको बायाँ हातमा कालो प्लास्टिकभित्र काजु बदाम र चिया पत्तीको बीचमा लुकाइएको अवस्थामा सेतो प्लास्टिकमा बेरिएको १३ दशमलव २७ ग्राम खैरो हेरोइन फेला परेको थियो ।
यस्तै, सोही स्थानमा विशेष सूचनाको आधारमा प्रहरीले भारततर्फबाट रातो रंगको म२प १४२४ नम्बरको एफजेडएस मोटरसाइकल चढेर नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई पक्राउ गरेको थियो । चेकजाँचका क्रममा समिर डगौराले लगाएको रातो पाइन्ट भित्र, निलो रंगको कट्टु भित्र लिंगको नजिक लुकाइएको ५ दशमलव ८१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
तीनै जनालाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।
प्रतिक्रिया