धनगढी । सुदूरपश्चिममा पाँच रिक्त पदका लागि मतदान सम्पन्न भएको छ । आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा बेलुका ५ बजे सकिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुखका अनुसार बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा वडा अध्यक्ष पदका लागि मतदान भएकोमा ५७ प्रतिशत मत खसकेको छ ।
स्वामीकार्तिकमा ५२ प्रतिशत मतदान
बाजुराको स्वामीकर्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि मतदान सकिएको छ । प्रदेश निर्वाचन अधिकारी भट्टका अनुसार त्यहाँ तीन हजार नौं सय तीन मत खसकेको छ । सात हजार चार सय ४० मतदाता रहेकोमा ५२ प्रतिशत मत खसकेको भट्टले जानकारी दिए । त्यहाँ आइतबार नै मतगणना गर्ने तयारी गरिएको छ । तत्कालै गाउँपालिका कार्यालयको हलमा मतपेटिका संकलन गरेर मतगणना सुरु गर्ने तयारी भएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुल्तीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र नेकपा एकीकृत समाजवादीकी जवा शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकी नेपाली कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा आइतबार उपनिर्वाचन भएको हो ।
भीमदत्त–६ मा ५५ प्रतिशत
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा ५५ प्रतिशत मात्रै मत खसकेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार वडा अध्यक्ष पदका लागि त्यहाँ दुई हजार नौं सय ९२ जाले मतदान गरेका हुन् । भीमदत्त –६ मा पाँच हजार चार सय ३४ मतदाता छन् । वडा अध्यक्ष पदका लागि भने १२ जनाले उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसबाट प्रकाश चन्द, एमालेबाट बहादुर चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट सुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाट थानेश्वर लेखक उम्मेदवार छन् ।
दार्चुलाको दुहुँ– ५ मा ६९ प्रतिशत
दार्चुलाको दुहँु गाउँपालिका–५ मा वडा अध्यक्ष पदका लागि मतदान भएकोमा ६९ प्रतिशत मत खसकेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार त्यहाँ एक हजार दुई सय ७२ मतदाता थिए भने ८ सय ७७ मत खसेको हो । वडा अध्यक्ष पदका लागि एमालेबाट मानसिंह बडाल, काँग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार चुनावी मैदानमा छन् ।
डोटीको पुर्वीचौकी–६ मा ५३ प्रतिशत
डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा वडा अध्यक्ष पदका लागि मतदान भएकोमा ५३ प्रतिशत मत खसको छ । त्यहाँ एक हजार पाँच सय ९३ मतदाता रहेकोमा ८ सय ३९ मत खसकेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यहाँ एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी कुमारी खड्का मैदानमा छन् ।
बझाङको सुर्मामा ७६ प्रतिशत
बझाङमा भने ७६ प्रतिशत मत खसकेको छ । जिल्लाको सुर्मामा गाउँपालिका–४ मा वडा अध्यक्ष पदका लागि मतदान भएकोमा एक हजार एक सय ७८ मत खसकेको हो । त्यहाँ एक हजार पाँच सय ५४ मतदाता छन् । वडाअध्यक्ष पदको लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहराले उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया