डोटी । डोटीको विपीनगरस्थित केदार सुर्य बहुमुखी क्याम्पस सञ्चालक समितिले समितिको बैठकमा सहभागिता नगराएकोप्रति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ ।
स्ववियु सभापति यशोदा बोहरा र सचिव विक्रम साउँदले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु सभापति सञ्चालक समिति सदस्य रहने क्याम्पस सञ्चालन सम्बन्धी विधानमा व्यवस्था भए पनि बैठकमा सहभागी नगराइएको भन्दै आपत्ति जनाएका छन् । क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनले स्ववियुलाई बैठकमा सहभागी नगराउनु विधानविपरीत रहेको विज्ञप्ति जनाइएको छ ।
स्ववियुले क्याम्पस प्रशासन र सञ्चालक समितिसँग सात बुँदे मागसहित ज्ञापनपत्र समेत बुझाएको छ । विषय शिक्षकबाट नियमितरुपमा कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्ने, क्याम्पसमा भइरहेको राजनीतिकरण अन्त्य गर्नुपर्ने तथा सञ्चालक समितिको बैठकमा स्ववियु सभापतिको अनिवार्य सहभागिता गराउनु पर्ने माग स्ववियुले गरेको छ ।
त्यस्तै क्याम्पस प्रमुखले अवैधानिकरुपमा आफ्नै परिवारका सदस्यलाई उपप्राध्यापक नियुक्त गरेको भन्दै ज्ञापनपत्रमा आपत्ति जनाइएको छ । शिक्षक कर्मचारीले लामो समयदेखि तलब नपाएको गुनासो गर्दा क्याम्पस सञ्चालक समिति सदस्यले उल्टै जागिर छोड्न धम्की दिएको भन्दै स्ववियुले त्यस्ता सदस्यलाई तत्काल पदबाट हटाउन माग गरेको छ । आफूहरुले राखेका माग पुरा नभए आन्दोलनमा उत्रने स्ववियु सभापति बोहराले जनाएकी छन् ।
प्रतिक्रिया