टीकापुर । नेपाली काँग्रेसले टीकापुर अस्पतालमा पछिल्लो समय भएका घटनाक्रमप्रति प्रशासनको ध्यानाकर्षण गराएको छ । नेपाली काँँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह नेतृत्वको टोलीले आज इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
भेटका क्रममा सभापति शाहले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पताल जस्तो संवेदनशील ठाउँमा गलत काम हुनु दुर्भाग्य भएको बताउँदै रोकथामका लागि पहल गर्न आग्रह गरेका छन् ।
उनले प्रयोगशालामा म्याद सकिएको केमिकल प्रयोग हुँदा बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र त्यसले गम्भिर दुर्घटना निम्त्याउन सक्ने भएकाले सचेत हुनुपर्ने बताए ।
उनले अस्पताल व्यवस्थापन समितिले गरेका निर्णय लुकाइनुले पनि अस्पतालभित्र केही गलत भएको हुनसक्ने आशंका उब्जिएको बताउँदै सत्यतथ्य छानबिन गर्न आवश्यक देखिएको बताए ।
उनले अस्पताललाई हानी नोक्सानी हुने खालका कुनै निर्णय भएको भए त्यसलाई बदर गर्न समेत माग गरेका छन् । उनले सरकारको कानून कार्यान्वयन गर्ने गराउने सरोकारवाला निकाय भएका कारण प्रशासन कार्यालयले गलत काम कारबाही रोक्नेतर्फ ठोस कदम चाल्नुपर्ने बताए ।
‘प्रशासनलाई गलत गर्नेलाई कारबाही गर्ने अधिकार छ’ उनले भने, ‘कोही कसैले गलत गरेको छ भने कानून बमोजिम कारवाही गर्न डराउनु हुँदैन ।’
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख थापाले आफू अस्पतालमा भएका घटनाक्रमप्रति गम्भिर ढंगले अनुसन्धान गरिरहेको बताए । उनले मेसु डा. रेमकुमार राईले कमी कमजोरी सुधार्नेतर्फ लागेको मौखिक जवाफ दिएको बताए ।
उनले गलत गर्ने छुट कसैलाई नभएको बताउँदै गलत गर्ने जोसुकै भए पनि कानूनी कारबाहीको भागेदार हुने बताए । क्षेत्रीय सभापति शाह नेतृत्वको टोलीमा काँग्रेस महाधिवेशन प्रतिनिधि चेतमान खत्री, क्षेत्र नम्बर १ का सचिव धनञ्जय रिमाल, काँग्रेस टीकापुरका सभापति नरेशकुमार खत्री, तरुण दल क्षेत्र नम्बर १ का सभापति कल्पेश कुँवर, उपेन्द्र खनाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया