धनगढी । अधिकांश क्षेत्रमा अहिले पनि महिलाको सहभागिता प्रतिनिधित्वका लागि मात्र गराउने परम्परा छ । तर, बैतडीको पाटन नगरपालिकामा भने अधिकांश उपभोक्ता समितिको नेतृत्वमा महिलाहरु छन् । २२ वटा उपभोक्ता समितिमध्ये २१ वटामा महिलाहरु अध्यक्ष छन् ।
विकास निर्माणका काममा जनसहभागिता गराउनका लागि पूर्वाधार निर्माण, सामाजिकलगायत विभिन्न योजनाहरु कार्यान्वयनका क्रममा उपभोक्ता समिति गठन गर्ने गरिएको छ । उपभोक्ता समितिमार्फत स्थानीयले आफूकहाँ हुने विकास निर्माणका कार्यक्रमहरु कार्यान्वयनमा सहभागिता जनाउने गर्छन । पाटनमा विकास निर्माणका काममा मात्र नभइ विभिन्न अन्य योजनाहरु कार्यान्वयनका क्रममा गठन हुने उपभोक्ता समितिमा पनि महिलाको उल्लेख्य सहभागिता रहने गरेको छ ।
नगरपालिकाले उपभोक्ता समितिको नेतृत्वमा महिलालाई प्राथमिकता दिँदै आएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा पनि विभिन्न योजनाहरुमा सम्बन्धित क्षेत्रका स्थानीयको सहभागिता बढाउनका लागि उपभोक्ता समितिमार्फत कामहरु गरिरहेको छ ।
नगरपालिकाभित्र स्थानीयको सहभागिता बढाउनका लागि उपभोक्ता समितिमार्फत् विभिन्न योजनाहरु कार्यान्वयनका लागि २२ वटा उपभोक्ता समिति गठन गरिएका छन् । त्यसमध्ये २१ वटा समितिको नेतृत्व महिलाले गरिरहेका नगरपालिकाले जनाएको छ । बाटोघाटो, खानेपानीलगायत पूर्वाधार निर्माण तथा सामाजिक काममा महिलाको सक्रिय सहभागिता रहने गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले विकास निर्माणका काममा महिला सहभागिता बढाउनका लागि उपभोक्ता समितिको नेतृत्वमा महिलालाई प्रोत्साहन गरिएको बताए । उनले स्थानीय तहमार्फत हुने विकास निर्माण तथा सामाजिक काममा महिला सहभागिता उत्साहजनक रहेको बताए ।
नगर प्रमुख गौरीसिंह रावलले उपभोक्ता समितिको नेतृत्वमा बसेपछि महिलाको नेतृत्व क्षमता विकासमा पनि टेवा पुगेको बताए । उनले कार्यपालिका बैठकबाटै नगरका काममा महिलालाई प्रोत्साहन र प्राथमिकता दिने निर्णय गरिएको जानकारी दिए । नगर प्रमुख रावलका अनुसार महिला शसक्तिकरण कार्यक्रमहरु पनि नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।
पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावल
‘उपभोक्ता समितिमा बस्दा महिलाको नेतृत्व क्षमता विकास हुन्छ । योजना सम्बन्धी जानकारी पनि पाउँछन्’ उनले भने, ‘हामीले विकास निर्माणका काममा महिला सहभागितालाई प्रोत्साहन गरिरहेका छौँ ।’ महिला सहभागिताले विकास निर्माणका कामहरुमा गर्न सहज हुनुका साथै खर्च पनि पारदर्शी हुने गरेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया