ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बदनाम छन् घुमुवा प्रहरी, असुलीमा सक्रिय !

सोमबार ०५, जेठ २०८२ ०५:४९

धनगढी । गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ सादा पोशाकका प्रहरी अर्थात् घुमुवा प्रहरी खटाइएको हुन्छ । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर असुलीमा सक्रिय रहेको भन्दै धमाधम उजुरी पर्न थालेका छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा पनि उनीहरुको नाम जोडिन थालेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालय लगायत मातहत युनिटमार्फत कैलाली जिल्लामा खटाइएका घुमुवा प्रहरी त रकम असुलीका नामले बदनाम छन् । कैलालीमा घुमुवा प्रहरीका इन्चार्जसहितका कर्मचारीविरुद्ध उजुरी परेका छन् । 

अडियो, भिडिओ लगायतका सामग्री समावेश गरेर घुमुवा प्रहरीविरुद्ध सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालय नक्सालसम्मै उजुरी परेको प्रहरी अधिकारीले बताएका छन् । ‘कैलालीमा पनि अहिले एउटा अडियो घुमिरहेको छ,’ ती अधिकारीले भने, ‘उक्त अडियोमा प्रहरी प्रमुखको नाममा तस्करीमा संलग्न व्यक्तिसंग रकम मागिएको सुनिन्छ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रकाश मल्लले पनि घुमुवा प्रहरीको विषयमा उजुरी तथा गुनासो आउने गरेको स्वीकार गरे । ‘त्यस्ता गुनासो आएपछि आरोपित प्रहरीमाथि छानबिन गर्दै आएका छौं,’ उनले भने, ‘अहिले पनि त्यस्ता गुनासो आएका छन् । हामीले अनुसन्धान गरिरहेका छौं ।’

कैलालीमा घुमुवा प्रहरी पटकपटक विवादमा तानिएको छ । अधिकासं सादा पोसाकका प्रहरीले चोरीको मोटरसाइकल प्रयोग गर्दै आएको पनि स्रोतको दाबी छ । 

‘केही घुमुवा प्रहरीले उत्कृष्ट काम पनि गरेका छन्, प्रहरीको नीतिअनुसार नै काम गरेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘तर, अधिकांश घुमुवा प्रहरी भने बदनाम छन् । घुमुवा प्रहरीको काम तिनीहरुलाई खटाउने अधिकारी कस्तो छ ? भन्नेमा पनि भर पर्छ ।’

अघिल्ला आइजीपी बसन्तबहादुर कुँवरका पालामा घुमुवाकै कारण विवाद हुन थालेपछि प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरी नराख्न सर्कुलर नै जारी गरेको थियो । तर, उक्त सर्कुलर कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया