धनगढी । सुदूरपश्चिममा पाँच पदका लागि भएको उपनिर्वाचनमा चारमा नेपाली काँग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन् । काँग्रेसले चार वटै वडा अध्यक्ष पदमा जित हासिल गर्दा एमालेले भने उपाध्यक्षमा चुनाव जितेको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा ०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार मैना जोशी निर्वाचित भएकी थिइन् । जोशीले एक हजार ८१० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले एक हजार ६३७ पाएकी थिइन् ।
जोशीको निधनपछि भएको उपनिर्वाचनमा जित निकाल्दै एमालले आफ्नो विरासत फिर्ता गरेको छ । ०७९ सालमा चुनाव हारेकी बुढाले यसपटक उपनिर्वाचनमा जित हात पारेकी छन् । उनी एक हजार ७४० मतसहित निर्वाचित भएकी हुन् । कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले एक हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् ।
नेकपा एमालेका सुदूरपश्चिम सचिव रणबहादुर चन्द उम्मेदवारको लोकप्रियता र कम्युनिष्ट मत धेरै नबाडिएपछि एमालेलाई जित्न सहज भएको बताउँछन् । ‘यसअघि पनि एमाले उम्मेदवार त्यहाँ थोरै मतले पराजित हुनुभएको थियो,’ चन्दले भने, ‘यसपटक स्थानीयस्तरमा उहाँको लोकप्रियता पनि बढी थियो । माओवादी केन्द्रले समर्थन गरेपछि हामीलाई झनै सहज भयो ।’ त्यहाँ माओवादी उम्मेदवारले एमालेलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
०७४ सालको निर्वाचनमा त्यहाँ एमालेले जितेको थियो । स्वामीकार्तिक गाउँपालिका हुनुअघि त्यहाँ रहेका वाइ, जुकोट र साप्पाटा गाविस पनि एमाले विजयी हुँदै आएको थियो । ०४९ र ०५४ मा पनि एमालेले नै जितेको थियो ।
प्रतिक्रिया