धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको छ । शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले तिम्सिनामाथि कुटपिट गरेको आरोप लागेको छ ।
धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली स्कारपियोले भत्काएको सूचनापछि बिहीबार राति १० बजे नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियलसम्म पुगेको थियो । सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच विवाद भएको थियो । विवादपछि भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको आरोप लागेको हो ।
नगर प्रहरी निरीक्षक धामीले भने आफूहरुले भन्सार प्रमुखमाथि कुटपिट नगरेको र सामान्य धरपकड मात्रै भएको बताए । ‘ सडकको जाली भत्काउने गाडीको खोजीमा हामी भन्सारको बेरियलसम्म पुगेका थियौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘त्यहाँ भन्सार प्रमुख मापसे गरेको अवस्थामा भेटिनुभएको थियो । तर, उहाँले हाम्रो गाडी थुन्ने धम्की दिँदै गाडीमा हान्न थालेपछि त्यस्तो नगर्न आग्रह गरेका थियौं ।’
सडकमा विवाद भएपछि भन्सार प्रमुख तिम्सिना भन्सार कार्यालयभित्र पसेका थिए । ‘हामीले उहाँर्लाइ चिनेका पनि थिएनौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘भन्सार कार्यालयभित्र अनाधिकृत व्यक्ति पसेको आशंकामा हामी पनि उहाँकै पछाडि गएका थियौं । सो क्रममा सामान्य धरपकड भएको हो । केही समयपछि पुगेको प्रहरीले उहाँ नै भन्सार प्रमुख हो भनेर परिचय गराएपछि हामी फर्किएका हौं ।’
घटनाबारे बुझन भन्सार प्रमुख तिम्सिनालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच विवाद भएको खबरपछि राति प्रहरी पठाएको जानकारी दिए । ‘हाम्रो टोली त्यहाँ पुग्दा विवाद साम्य भइसकेको थियो,’ उनले भने, ‘अहिलेसम्म कुनै पक्षबाट पनि निवेदन आएकौ छैन ।’
प्रतिक्रिया