धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहित चार जनालाई कैलाली प्रहरीले पक्राउ गरको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नगर प्रहरी निरीक्षक धामीसहित उनका सवारी चालक रतनबहादुर मल्ल, नगर प्रहरी हवल्दार मणीदत्त भट्ट र नगर प्रहरी जवान जितेन्द्रसिंह धामीलाई पक्राउ गरिएको छ ।
चारै नगर प्रहरीलाई धनगढीबाटै पक्राउ गरिएको डीएसपी सिंहले बताए । भन्सार कार्यालयले अभद्र व्यवहार शिर्षकमा दिएको जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको डीएसपी सिंहले बताए । नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरपालिकाले पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली स्कारपियोले भत्काएको सूचनापछि शनिबार राति १० बजे नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियलसम्म पुगेको थियो ।
सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच विवाद भएको थियो । विवादपछि भन्सार कार्यालयको परिसरमै पुगेर नगर प्रहरी प्रमुख धामीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।
प्रतिक्रिया