ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भन्सार प्रमुखमाथि आक्रमण हुँदा कहाँ थियो भन्सार सुरक्षामा खटिएको सशस्त्र ?

सोमबार १२, जेठ २०८२ ०६:३०

धनगढी । शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भयो । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी नेतृत्वको टोलीले भन्सार कार्यालय जस्तो अत्यन्त सम्वेदनशील क्षेत्रमै घुसेर प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट गरेको थियो । तिम्सिनालाई पछाडिबाट तान्दै कुटपिट गरेको भिडियो नै सार्वजनिक भएको छ । 

भन्सार प्रमुख कार्यालय परिसरमै कुटिएपछि भन्सार सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीमाथि पनि प्रश्न तेर्सिएको छ । भन्सार सुरक्षाका लागि भन्दै त्यहाँ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगर राखिएको छ । भन्सार कार्यालयसंगै जोडिएको छ, सशस्त्र प्रहरीको त्यो गुल्म । सशस्त्र प्रहरीकै त्रिनगर नाकाको बेरियलमा २४ घण्टे ड्युटी पनि राखिएको छ । 

त्यहाँ ड्युटीमा खटिएका सशस्त्र प्रहरीकै अगाडि नगर प्रहरीसंग भन्सार प्रमुख तिम्सिनाको विवाद सुरु भएको थियो । ‘धनगढी–अत्तरिया छ लेन सडकमा ट्री गार्डेनमा लगाइएको जाली भाँचेर गाडी भागेको खबर पाएपछि हामी भन्सारको बेरियलसम्म पुगेका थियौं,’ आइतबार नगर प्रहरी प्रमुख धामीले अग्रलेखसंग कुराकानी गर्दै भनेका थिए, ‘भन्सार प्रमुखसंग विवाद सुरु भएपछि ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई उहाँ (तिम्सिना)को विषयमा सोधेका पनि थियौं । तर, सशस्त्र प्रहरीले मुख खोलेनन् ।’

तिम्सिनाको पिछा गर्दै नगर प्रहरी भन्सार कार्यालय प्रवेश गरेको देखेका ड्युटीमा रहेका सशस्त्र प्रहरीले भने सम्भावित घटनाको आकलन नै गरेनन् । जसका कारण भन्सारको बेरियलमा सुरु भएको विवादपछि नगर प्रहरी प्रमुख धामीले भन्सार कार्यालयमै घुसेर तिम्सिनामाथि कुटपिट गरेका थिए ।

नगर प्रहरीसंग विवाद भएपछि भन्सार प्रमुख तिम्सिनाले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीलाई पटकपटक फोन गरेका थिए । तर, डीएसपी धामीले फोन उठाएनन् । ‘भन्सार प्रमुखको दुई पटक फोन आएको रहेछ,’ डीएसपी धामीले भने, ‘म अन्य काममा व्यस्त हुँदा थाहा नै पाएन ।’

डीएसपी धामीले भन्सारको बेरियलमा विवाद भएको त्यहाँ खटिएका सशस्त्र प्रहरीले देखेको पनि स्वीकार गरे । ‘भन्सार प्रमुख तिम्सिना र नगर प्रमुखबीच सुरुको चरणमा बेरियल नजिक सामान्य भनाभन हुन थालेपछि सशस्त्र प्रहरीले नै तिम्सिनालाई कार्यालय जानु भनेका हुन्,’ डीएसपी धामीले भने, ‘तर, पछि नगर प्रहरीको टोली कार्यालय हाताभित्रै पसेर कुटपिट गरेको गरका रहेछन् । त्यसबारे उनीहरुले आकलन गर्न सकेनन् ।’

चार जना नगर प्रहरी पक्राउ
प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख धामीसहित चार जनालाई कैलाली प्रहरीले पक्राउ गरको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नगर प्रहरी निरीक्षक धामीसहित उनका सवारी चालक रतनबहादुर मल्ल, नगर प्रहरी हवल्दार मणीदत्त भट्ट र नगर प्रहरी जवान जितेन्द्रसिंह धामीलाई पक्राउ गरिएको छ ।

भन्सार कार्यालयले अभद्र व्यवहार शिर्षकमा दिएको जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको डीएसपी सिंहले बताए । १० दिनको म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान सुरु भएको डीएसपी सिंहले बताए । 

चार प्रहरी खटाउने तयारी
कार्यालयमै भन्सार प्रमुख कुटिएपछि त्यहाँ नेपाल प्रहरी खटाउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बाल नरसिंह राणाले हवल्दारको कमाण्डमा चार जना प्रहरी खटाउने तयारी रहेको बताए ।

‘भन्सार कार्यालयको सुरक्षाका लागि चार प्रहरीको दरबन्दी नै रहेको पाइयो,’ एसपी राणाले भने, ‘दरबन्दीअनुसार केही संरचना बनाएर त्यहाँ खटाउने तयारी भएको छ ।’

आंशिक रुपमा खुल्यो भन्सार 
प्रमुख भन्सार अधिकृतमाथि कुटपिट भएपछि आइतबारदेखि भन्सार कार्यालयको कामकाज ठप्प पारिएको थियो । दोषीलाई कारबाही गर्नुपर्ने र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने मागसहित कर्मचारीले कामकाज ठप्प पारेका थिए । उनीहरुलाई भन्सार एजेन्ट महासंघको पनि समर्थन थियो । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालका अनुसार कुटपिटमा संलग्नमाथि कारबाहीको प्रक्रिया अगाडि बढेपछि भन्सार खुलेको बताए । यता कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खिम अर्याले सोमबार रातिदेखि भारतबाट आउका गाडी छोड्न थालिएको बताए । ‘तरकारी, फलफूल र पेट्रोलियम पदार्थका गाडी आजै छोड्ने गरी काम भइरहेको छ,’ उनले भने । 

प्रतिक्रिया