ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूर पहाडको ‘लाइफलाइन’ सडकमा तीन दशकपछि स्तरोन्नतिको योजना

आइतबार १८, जेठ २०८२ १०:३९

धनगढी । पाँच दशकअघि सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई आवतजावत गर्दा यातायातको सुविधा थिएन । पहाड जोड्ने सडक नहुँदा हिडेरै कैलाली र कञ्चनपुर पुग्थे पहाडका बासिन्दा । ०१८ सालतिर भीमदत्त राजमार्ग (अत्तरिया–डडेल्धुरा जोड्ने सडक) निर्माणको चर्चा सुरु भयो । त्यसपछि सडक रेखांकन र ट्याक खोल्ने काम भएर ०२९ सालमा पहिलोपटक डडेल्धुरामा गाडी पुगेको थियो । 

०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम ०५२ सालमा सम्पन्न भएको थियो । कालोपत्रे भएको तीन दशकसम्म पनि सडक स्तरोन्नतिको काम भएको छैन । राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ । तर, उक्त मर्मत पनि एक वर्ष पनि टिक्ने गरेको छैन । 

सडक कालोपत्रे भएको तीन दशकपछि भने संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा स्तरोन्नतिको योजना परेको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘अत्तरिया–खोड्पे–दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य सुरु गरिने छ,’ उल्लेख छ । भीमदत्त राजमार्ग मात्रै नभएर अत्तरियादेखि दार्चुलासम्म नै दुई लेनको सडक बनाउने योजना नेपाल सरकारको छ । तर, उक्त सडक योजनाका लागि बजेट रकम भने उल्लेख भएको छैन । 

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । तर, त्यहीँ लाइफलाइन सडकको भने बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३–३३ किलोमिटर पर्छ । 

राजमार्गको डडेल्धुरा र डोटी खण्ड सडक डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ । यस्तै, भीमदत्त राजमार्गमा दर्जनौँ पहिरोले पनि सडक झन् क्षतिग्रस्त भएको छ । राजमार्गको बुढीतोला क्षेत्रमा त पहिरोले झण्डै तीन सय मिटर सडक बगाएको थियो । अहिले उक्त क्षेत्रमा ६ करोड ६० लाखको ठेक्का लगाएर काम भइरहेको छ । 

सडक डिभिजन कार्यालयहरुका अनुसार राजमार्गको स्तरोन्नति नभए पनि समय–समयमा आवधिक र पटके मर्मत हुँदै आएको छ । अहिले सहजपुरदेखि फल्टुडेसम्म आवधिक मर्मत भएकाले उक्त क्षेत्रमा सडकको अवस्था ठीक छ । अन्य क्षेत्रमा पटके मर्मत मात्रै हुने गरेको छ ।

प्रतिक्रिया