ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
२२६० किलो आँप नष्ट

धनगढी बजारको आँप खान जोखिम, अत्यधिक विषादी

आइतबार १८, जेठ २०८२ ०४:५७

धनगढी । धनगढीमा बिक्री भइरहेको आँपमा विषादीको मात्रा अत्यधिक रहेको पाइएको छ । नमुना परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने गरी विषादीको मात्रा अत्यधिक रहेको पाइएपछि धनगढी उपमहानगरले दुई हजार २६० किलोग्राम आँप जफत गरेको छ ।

धनगढीको सहिद गेटस्थित कृषि थोकबजारमा रहेको जयश्री माँ जानकी स्टोरमा राखिएको आँपका विषादीको मात्रा अत्यधिक देखिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिए । जफत गरिएको आँप खाल्डोमा गाडिएको उनले बताए ।

मल्लका अनुसार विषादीको अवशेष ३५ अंकभन्दा कम हुनुपर्नेमा ६२ भन्दा बढी देखिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष दु्रत परीक्षण कार्यालय अत्तरियाको सहयोगमा अनुगमनका क्रममा मोबाइल भ्यानमै विषादी परिक्षण गरिएको उपमहानगरले जनाएको छ ।

ती आँप भारतबाट आयात गरिएको खुलेको बताइएको छ । कृषि थोकबजारबाट भिण्डी, काक्रो, टमाटर, केरा, अंगुर, स्याउको नमुना लिएर परीक्षण गरिएको ती बस्तुमा भने विषादीको मात्र सामान्य पाइएको शाखा प्रमुख मल्लले जानकारी दिए ।
 

प्रतिक्रिया