धनगढी । गत १० कात्तिकमा सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले कञ्चनपुरमा दम्पत्ती हत्या घटनाको अनुसन्धान टुङ्गोमा पुग्नै लागेको दावी गरेका थिए । ‘हाम्रो अनुसन्धानले छिट्टै नतिजा दिन्छ । हामी घटनामा संलग्नको नजिक पुगिसकेका छौं,’ घटनाको अनुसन्धानबारे जानकारी लिन खोज्दा उनले भनेका थिए ।
दम्पत्ती हत्या भएको सोमबार ४० दिन पुगेको छ । तर, घटना अहिले पनि रहस्यमै छ । कात्तिक ८ गते लालझाडी गाउँपालिका–१, बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको थियो । अघिल्लो राति संगै सुतेका उनीहरु बिहान मृत फेला परेका थिए ।
रमेशको शव आँगन र उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै थियो भने झुलमा रगत लतपतिएको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार घटनाको अनुसन्धानका क्रममा दुई सयभन्दा बढी व्यक्तिसँग सोधपुछ भएको छ । ‘दम्पत्ती हत्याको अनुसन्धानमा सुरुवातमै हामीले तालिमप्राप्त कुकुर पनि प्रयोग गरेका थियौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘शंकास्पद सबै व्यक्तिसँग सोधपुछ पनि भइसकेको छ । तर, घटनाको अनुसन्धानले पूर्णता पाउन सकेको छैन । हामीलाई जवाफ दिन पनि समस्या भइरहेको छ ।’
जोशीका अनुसार घटनाको अनुसन्धानका लागि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली पनि खटिएको छ । ‘सीआइबीका वरिष्ठ प्रहरी नायब निरीक्षक सूर्य श्रेष्ठको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षकको टोलीले पनि अनुसन्धानमा सघाइरहेको छ ।’ प्रदेश र संघबाट पनि प्रहरी टोली खटिएर सीआइबीलाई सघाइरहेको उनले बताए । बडायक दम्पत्तीका विषयमा परिवारका सदस्य र आफन्त जानकार नहुँदा पनि घटनाको अनुसन्धानमा समस्या भइरहेको कञ्चनपुर प्रहरीको भनाइ छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–२, डिम्बरकी साढे १७ वर्षीया किशोरी बेपत्ता प्रकरण पनि अहिले सुदूरपश्चिम प्रहरीलाई टाउको दुखाइको विषय बनेको छ । महाकाली प्रहरी चौकीका तत्कालीन इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि किशोरी बेपत्ता पारेको आरोप छ । दसैँको अघिल्लो दिन २५ असोजमा स्थानीय बासिन्दाले जोशीलाई दाम्लोले बाँधेर कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार ती किशोरी बेपत्ता भएको दुई महिना पुगेको छ । ‘२५ असोजमा एकाबिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘सोही समयदेखि बेपत्ता छिन् । आरोपित प्रहरी हवल्दार जोशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।’
किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् । हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूँले नपारेको बयान दिएका छन् ।
‘२५ गते बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग मेरो भेट भएको थियो,’ प्रहरी निरीक्षक पाण्डेका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका छन्, ‘ती किशोरीले आफूँहरुको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सोही कारणले तनाब भएको बताएकी थिइन् । मैले आफूँ विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिएँ । त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन् । मेरो भेट भएको छैन ।’
प्रहरी निरीक्षक पाण्डेका अनुसार घटनाको अनुसन्धानका लागि सीआइबीको टोली बैतडी पुगेको थियो । तर, अहिलेसम्म बेपत्ता किशोरीको अवस्थाबारे जानकारी हुन सकेको छैन । ‘हामीले पञ्चेश्वर गाउँपालिका र आसपासका क्षेत्रमा खोजी गरेका छौं,’ प्रहरी निरीक्षक पाण्डेयले भने, ‘भारततर्फ पनि खोजी गरिएको थियो । तर, अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।’
प्रहरीबाटै असुरक्षित भएको गुनासो
डिम्बरका स्थानीयबासिन्दाले प्रहरीबाटै असुरक्षित भएको गुनासो गरेपछि अहिले महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कुलाउ सारिएको छ । स्थानीयले प्रहरी चौकी सार्न माग गरेपछि डिम्बरका प्रहरी वडा नम्बर ३ को कुलाउ बस्न थालेका हुन् ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा असफल भएको प्रहरी त्यसपछि ठूला अपराधको अनुसन्धानमा निरन्तर असफल हुन थालेको हो । १३ वर्षीया किशोरी पन्तको ११ साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखाममा बलात्कारपछि हत्या भएको थियो ।
‘पछिल्लो समय सुदूरपश्चिम प्रहरी अपराधन अनुसन्धानभन्दा पनि सानातिना घटनामा अल्झिएको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘जहाँ कमाइ हुन्छ प्रहरीको ध्यान पनि त्यतै बढी लागेको छ । जसका कारण गम्भीर प्रकृतिका अपराधको अनुसन्धानमा पनि प्रहरी निरन्तर असफल भइरहेको छ ।’
डिआइजी केसी भन्छन्–हामी निराश भएका छैनौँ
प्रहरी नायब महानिरीक्षक केसी भने अनुसन्धानमा समय लागे पनि दम्पत्ती हत्या प्रकरण र किशोरी बेपत्ता प्रकरणलाई टुङ्गोमा पु¥याउने दावी गर्छन् । ‘नतिजा आउँदा शतप्रतिशत हुन्छ भने त्यो अघिसम्म अनुसन्धान शून्यमा देखिन्छ,’ उनले भने, ‘ढिलो भए पनि दुवै घटनामा परिणाम आउँछ । हामी निराश भएका छैनौँ ।’
प्रतिक्रिया