ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको प्रतिव्यक्ति आय बढ्यो, गार्हस्थ्य उत्पादनमा योगदान कति ?

बुधबार २१, जेठ २०८२ १२:००

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय ४२ अमेरिकी डलरले बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणले सुदूरपश्चिमेली नागरिकको प्रतिव्यक्ति आय एक हजार एक सय ११ अमेरिकी डलरबाट बृद्धि भई एक हजार एक सय ५३ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । यहाँको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा ३४३ अमेरिकी डलरले कम छ ।

प्रतिव्यक्ति आय सबैभन्दा कम रहेको मधेस प्रदेशमा ९३२ र सबैभन्दा बढी रहेको बागमती प्रदेशमा दुई हजार ६०१ अमेरिकी डलर छ । सुदूरपश्चिमभन्दा कमजोर प्रतिव्यक्ति आय रहेको कर्णालीमा एक हजार ८९ अमेरिकी डलर छ । लुम्बिनी प्रदेशको एक हजार २०१, कोशी प्रदेशको एक हजार ४०१ र गण्डकी प्रदेशको एक हजार ६२० अमेरिकी डलर प्रतिव्यक्ति आय छ ।

चालुआर्थिक वर्षमा आर्थिक बृद्धिदर स्थिर (३.३ प्रतिशत) रहेको सुदूरपश्चिमको गतवर्ष राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ७.१ प्रतिशत योगदान गरेकोमा यसवर्ष सात प्रतिशत योगदान रहने अनुमान सर्वेक्षणले गरेको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको योगदान शून्य दशमलव एक प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

आर्थिक सर्वेक्षणले मधेस, कोशी र बागमती प्रदेश बाहेकका प्रदेशको कुल गार्हस्थ्य उत्पादन घट्ने अनुमान गरेको छ । यसवर्ष कुल गार्हस्थ्य उत्पादनमा कोशीको १५.९, मधेसको १३.२, बागमतीको ३६.५, गण्डकीको ९, लम्बिनीको १४.२ र कर्णालीको ४.२ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । गतवर्ष कोशीको १५.८, मधेसको १३.१, बागमतीको ३६.४, गण्डकीको ९.१, लुम्बिनीको १४.३ र कर्णालीको ४.३ प्रतिशत योगदान थियो ।

यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रको योगदान बृद्धि भएको छ । गतवर्ष ३३.२ प्रतिशत कृषिक्षेत्रको योगदान रहेकोमा यसवर्ष बढेर ३४.७ प्रतिशत रहने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको उद्योग क्षेत्रको योगदान स्थित रही १२.५ प्रतिशन नै रहने अनुमान गरिएको छ भने सेवा क्षेत्रको योगदान ५४.३ प्रतिशतबाट घटेर ५२.८ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको कृषि क्षेत्रको योगदान बृद्धि भए पनि राष्ट्रिय कृषि उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा स्थिर रही ९.७ प्रतिशत नै रहने आर्थिक सर्वेक्षणले जनाएको छ । कुल गार्हस्थ उत्पादनमा यहाँको औद्योगिक क्षेत्रको योगदान स्थिर रहे पनि राष्ट्रिय औद्योगिक उत्पादनमा सुदूरपश्चिमको औद्योगिक उत्पादनको हिस्सा ५.४ प्रतिशतबाट बृद्धि भई ६.९ प्रतिशत हुने अनुमान सर्वेक्षणको छ ।

सार्वजनिक वित्तमा खर्च र राजश्वको अनुपातमा ठूलो अन्तर
सुदूरपश्चिम प्रदेशको सार्वजनिक वित्तमा खर्च र राजश्वको अनुपातमा ठुलो अन्तर रहेको आर्थिक सर्वेक्षणले जनाएको छ । यद्दपि, यो अन्तर गतवर्षको तुलनामा यसवर्ष घटेको छ । 

गतवर्ष राजश्व २.४१ प्रतिशत रहँदा खर्च ६.३१ प्रतिशत थियो भने यसवर्ष खर्च ४.५५ प्रतिशत र राजश्व २.१० प्रतिशत रहने अनुमान गरिएको छ । चालुआर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको खर्च र राजश्व दुबै घट्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ ।
 

प्रतिक्रिया