धनगढी । डोटीको आदर्श गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम आदर्श गाउँपालिकाले जितेको छ।
आदर्शको मौवामा भएको उक्त प्रतियोगितामा डडेल्धुराको परशुराम नगरपालिकालाई ३–० को सोझो सेटले पराजित गर्दै आदर्शले उपाधि जितेको हो ।
प्रतियोगितामा विजेताले एक लाख ३१ हजार १११ नगद, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ। प्रतियोगितामा उपविजेता बनेको परशुराम नगरपालिकाले ८१ हजार १११ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै तेस्रो स्थान हासिल गर्ने टिम बझाङको छविस पाथिभेरा गाउँपालिका रहेको छ। छविसले ५१ हजार १११ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट सेटर जनक खड्का, ब्लकर जितेन्द्र ढुंङ्गाल, डिफेन्डर वीरेन्द्र कोली, उत्कृष्ट स्पाइकर सन्तोष साउँद, उत्कृष्ट सर्भर पारस सिंह, उदयमान खेलाडी जगदीश ओझा भएका छन् । उनीहरूले जनही दुई हजार, ट्रफि, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी सुनिल बोहरा भएका छन् । बोहराले तीन हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया