धनगढी । नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले सुदूरपश्चिम सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा बदमासी भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै पाठकले बजेटमा बदमासी भएको बताउँदै छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । ‘बजेटमा बदमासी भएको छ, एकएक बदमासी पत्ता लाग्छ,’ उनले भने, ‘यसलाई रोक्न जारुरी छ । मुख्यमन्त्रीज्यू छानबिन समिति गठन गरौं ।’
उनले यतिबेला कमाउधन्दा चलिरहेको बताए । ‘हामी दुईचार योजनामा मात्र लागिपरेका छौं, हामी सही ढंगले अगाडि बढिरहेका छैनौं,’ सांसद पाठकले भने, ‘शासन प्रणाली खराब हुँदो रहेनछ, शासन कस्तो चलिरहेको छ, शासन चलाउनेहरु कस्ता गए भन्ने मुख्य हुने रहेछ ।’
उनले भौतिक पूर्वाधार विकास मन्त्रालयप्रति टिकाटिप्पाणी सार्वजनिक भइरहेको बताए । ‘हाकाहाकी पैसा लिएको कुरा उठिरहेको छ । होटलका नाम पनि भनिरहेका छन् सांसदहरुले, प्रदेशसभाकै बैठकमै प्रमाण दिन्छौं भनिरहेका छन्,’ सांसद पाठकले भने, ‘सम्बन्धित मन्त्रीमाथि यो नैतिक प्रश्न हो की होइन ? दुई–चार करोडका लागि मात्र राजनीतिमा आएका हौं भने ठीकै छ ।’
सरकारले केही अघि प्रदेशभरिको रोडको सञ्चाल बनाएर वाहीवाही कमाएको भए पनि बजेट भने नराखेको औल्याए । ‘भौतिक योजना मन्त्रालयभित्र सयौं योजनाहरु टुक्रेटाक्री आएका छन्,’ उनले भने, ‘भौतिक मन्त्रालय भनेको के हो ? सालबसाली बसाउने मन्त्रालय हो ? पहाडमा मान्छे छैन भन्छन् । तटबन्ध त गएका गएकै छन् त । कसलाई बचाउनका लागि हो त ? केही मन्त्रीहरुलाई नैतिक प्रश्न उठेको छ । त्यसको जवाफ चाँही चाहिन्छ ।’
आन्तरिक मामिला मन्त्रालयले गरेको बजेट विनियोजन तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले विपदको जोखिममा सुदूरपश्चिम सबैभन्दा धेरै रहेकोले विपद पूर्वतयारीमा बजेट विनियोजन नगरेको बताए । ‘हाम्रा प्राथमिकता के हुन् भन्नेमा मन्त्रीहरु अलमलमा छन्,’ उनले भने ।
सबैभन्दा बढि उपभोक्ता समितिबाट बदमासी भइरहेको बताउँदै उनले भ्रष्टाचार रोक्ने हो भने उपभोक्ता समितिबाट काम नगर्ने संकल्प गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया