धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२/०८ को बजेट धेरै राम्रो भन्न सकिने अवस्था नरहेको बताएका छन् । प्रदेश सभामा बजेटमाथिको छलफलको क्रममा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिंदै आर्थिक मामिलामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘बजेट समग्रमा धेरै राम्रो भन्न सकिने अवस्था मैले पनि पाएको छैन,’ उनले भने, ‘स्रोतको कमी र अन्य कतिपय कारणले सोचेको जस्तो गर्न सकेका छैनौं ।’ उनले सांसदहरुले माग गरेकै आधारमा धेरै मन्दिरमा बजेट परेको कुरा आफूलाई पनि महसुस भएको बताए । ‘माननीयज्युहरुले नै मन्दिरका योजना लिएर आउनु भएको थियो,’ मन्त्री थापाले भने, ‘कसैले मेरोमा ५० जना पुगिसके भने कसैले सय जना पुगिसके भनेर मन्दिरको योजना ल्याउनु भयो । सबै योजनालाई समेट्दा मन्दिरको योजना यसपाली धेरै भएकै हो ।’
उनले कतिपय वडामा छ सय योजना परेको सांसद्हरुको गुनासो आएपछि वडाअनुसार समेत छुट्याएर अध्ययन गरिएको बताए । उनले एउटा पालिकामा समेत छ सय योजना नपरेको दाबी गर्दै मन्त्री थापाले कुनै वडामा धेरै योजना परेको आफूले पनि भेटाएको बताए । उनले एक सयभन्दा बढी योजना परेको वडा नभेटिएको बताए ।
बहुवर्षीय योजनामा कम रकम विनियोजन भएको विषयमा मन्त्री थापाले पछि पनि रकमान्तर गर्न सकिने व्यवस्था गरिएको बताउँदै थप बजेट आवश्यक परेको बहुवर्षीय योजनामा थप बजेट विनियोजन गरिने बताए ।
बजेट किनबेच र बिचौलिया संस्कृतिको अन्त्य गर्ने प्रदेश सरकारको नीतिगत प्रतिवद्धता रहेको मन्त्री थापाले बताए । त्यसैका लागि गत वर्षदेखि चार बुँदे मापदण्ड बनाइएको बताउँदै उनले योजना खरिदबिक्रीको प्रमाण भेटिए कारबाहीको दायरामा ल्याउने बताए ।
प्रतिक्रिया