धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पताल र अन्य स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरिएको छ । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको आह्वानमा स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पारिएको हो ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको संघका प्रदेश अध्यक्ष डा. खगेन्द्र भट्टले जानकारी दिए ।
‘कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग हाम्रो हो,’ डा. भट्टले भने, ‘यो आन्दोलन देशभरी भइरहेको छ । सुदूरपश्चिममा पनि सेती प्रादेशिक लगायतका अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि आन एक दिनका लागि आकस्मिक सेवा मात्रै सुचारु छ ।’
केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।
प्रतिक्रिया