धनगढी । चालु आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिम सरकारले कर संकलनको निर्धारित लक्ष्य पूरा गर्न सकेको छैन । प्रदेश सरकारले यस वर्ष एक अर्ब ६० करोड ७० लाख रुपैयाँ कर संकलन गर्ने लक्ष्य लिएको थियो । प्रदेश लेखा नियन्त्रकको कार्यालय अनुसार शुक्रबारसम्म करिब एक अर्ब ५१ करोड रुपैयाँ संकलन भएको छ ।
असार मसान्त सकिँदा सकिदासम्म प्रदेशको कर संकलन बढेर एक अर्ब ५७ करोड रुपैयाँसम्म पुग्ने अनुमान कार्यालयको छ । गत वर्ष पनि प्रदेश सरकारको आन्तरिक आयको लक्ष्य पुरा हुन सकेको थिएन । गत वर्ष एक अर्ब ४२ करोड कर संकलनको लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब २८ करोड रुपैयाँ संकलन भएको थियो ।
सुदूरपश्चिममा सवारी साधन तथा घरजग्गा रजिष्ट्रेशनमा सबैभन्दा बढी कर संकलन हुने गरेको प्रदेश लेखा नियन्त्रक बाशुदेव जोशीले जानकारी दिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सवारी साधन र घरजग्गा रजिष्ट्रेशनलगायत शीर्षकमा करको दर बढाएको छ ।
मुलुक संघीय संरचनामा गएको आठ वर्षसम्म पनि प्रदेशको आन्तरिक आयमा वृद्धि हुन सकेको छैन । सरकारले आम्दानीको स्रोतका लागि करका दायरा बढाउनेतिर ध्यान नदिएको आरोप लाग्ने गरेको छ । प्रदेशको आन्तरिक आयले चालु खर्चसमेत धान्न सक्दैन ।
आन्तरिक आय न्यून हुँदा प्रदेशले बजेटको स्रोतको अधिकांश हिस्सा संघीय सरकारले विभिन्न शीर्षकमा दिने अनुदानमा निर्भर रहने गरेको छ । चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सरकारले आगामी वर्ष आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६२ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । बजेटको बाँकी हिस्सा राजस्व बाँडफाँट, रोयल्टी, वित्तीय समानीकरण, शशर्त, विशेष, समपुरकलगायत विभिन्न शीर्षकमा संघबाट प्राप्त हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया