ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

किशोरी बलात्कारको आरोपमा बालगृहका अधिकृत पक्राउ

आइतबार २९, असार २०८२ ०३:०९

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् ।

सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौँको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।

पीडित किशोरी ४ वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् र कमजोर आर्थिक अवस्थाका कारण बाल संरक्षणको उद्देश्यले खोलिएको सो होस्टेलमा राखिएकी थिइन् ।

किशोरीले दिएको जाहेरी अनुसार जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेका थिए । असार ८ गते किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् । तर, प्रारम्भिक समयमा राउत पक्राउ परेका थिएनन् ।

बालगृहमा हाल १५ जना बालिकाहरू रहेका छन् । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षा स्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । प्रहरीले बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया