टीकापुर । कैलालीमा एक शिक्षकको शंकास्पद मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका– ४ स्थित जनता नमुना माविका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार शिक्षक पन्तको घर धनगढी उपमहानगरपालिका तारानगर हो ।
घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पेयपदार्थमा विषादी सेवन गरेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
पन्त विगत १७ वर्षदेखी विद्यालयमा अंग्रेजी विषय अध्यापन गराउँदै आएको प्रधानाध्यापक नारायण तिमिल्सिनाले जानकारी दिए । घटना विवरणअनुसार विदामा घर गएका शिक्षक पन्त साउन ३ गते नै धनगढीबाट फर्केका थिए । प्रधानाध्यापक तिमिल्सिनाका अनुसार उनीसँगै अर्का एकजना शिक्षक समेत फर्केका थिए । उनीहरु दुवै जना दुर्गौलीमा अलगअलग घरमा डेरामा बस्ने गरेको प्रधानाध्यापक तिमिल्सिनाले बताए ।
धनगढीबाट दुर्गौली पुगेका पन्त र अर्का शिक्षक आ–आफ्नो डेरामा गए । प्रधानाध्यापक तिमिल्सिनाका अनुसार दुवैजना शिक्षक आ–आफ्नो डेरामा गएको केही समय पछि मृतक पन्तले ती अर्का शिक्षकलाई फोन गरेर टीकापुर बोलाए ।
ती अर्का शिक्षक र एक अर्को व्यक्ति टीकापुरस्थित एक होटलमा पुग्दा पन्त छट्पटाईरहेको अवस्थामा भेटिएको बताइएको छ । उनीहरु दुईजनाले पन्तलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । अस्पतालका चिकित्सकले शिक्षक पन्तलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनालाई शंकास्पद भनेको छ । प्रहरी नायब उपरिक्षक बुढाथोकीले घटनाको अनुसन्धान भरहेको जानकारी दिए । उनले विष सेवनको आशंका गरेका छन् ।
मृतक पन्तले आफै विष सेवन गरे वा अरु कसैले विष सेवन गराएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘घटनाको अनुन्धान भइरहेको छ’ प्रहरी नायब उपरिक्षक बुढाथोकीले भने, ‘केही कुरा शंकास्पद छ ।’ प्रहरीका अनुसार घटना शनिबार साँझ साढे सात बजेतिर भएको हो ।
मृतक शिक्षक पन्तका आफन्त राति नै टीकापुर पुगेका छन् । शवको पोस्टमार्टम टीकापुरमै गर्ने कि धनगढी गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रधानाध्यापक तिमिल्सिनाले जानकारी दिए । ‘आफन्तले धनगढीमै पोस्टमार्टम गर्ने भन्ने सुनेको छुँ,’ उनले भने, ‘प्रहरीले अनुमति दिन्छ कि दिँदैन सो बारे छलफल भइरहेको छ ।’
पन्त मृत्युको घटना शंकास्पद भन्दै विद्यार्थी विरोधमा उत्रिएका छन् । उनीहरुले शिक्षकको हत्या गरेको आरोप लगाएका छन् । केही विद्यार्थीहरुले सामाजिक सञ्जालमार्फत शिक्षकको हत्याविरुद्ध प्रदर्शनमा उत्रिन आह्वान गरेका छन् ।
प्रतिक्रिया