ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कर संकलनमा सामान्य वृद्धि, लक्ष्य अधुरै

सोमबार ०५, साउन २०८२ ०५:१२

धनगढी । तोकिएको लक्ष्य पुरा नभए पनि सुदूरपश्चिम प्रदेशमा आन्तरिक राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । प्रदेशमा रहेको आन्तरिक राजश्व कार्यालयहरुको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ को तुलनामा २०८१÷८२ मा राजस्व संकलन १.१२ प्रतिशतले मात्रै राजस्व संकलन वृद्धि भएको हो । 

प्रदेशमा रहेका तीन वटा आन्तरिक राजश्व कार्यालय र तीन वटा करदाता सेवा कार्यालयहरुले गत वर्षभन्दा यसवर्ष आठ करोड ५३ लाख ७२ हजार ६४० रुपैयाँ बढी राजस्व संकलन गरेका हुन् ।

अघिल्लो वर्ष सात अर्ब ६३ करोड ९८ लाख ९६ हजार १६० रुपैयाँ संकलन भएकोमा गतवर्ष सात अर्ब ७२ करोड ५२ लाख ६८ हजार आठ सय रुपैयाँ संकलन भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी आयकर बढेको छ । अघिल्लो वर्ष भन्दा गतवर्ष १६.३५ प्रतिशतले आयकर वृद्धि भएको हो । ०८१÷८२ मा तीन अर्ब ९४ करोड ६२ लाख ७६ हजार रुपैयाँ आयकर संकलन भएको छ भने गतवर्ष तीन अर्ब ३९ करोड १८ लाख ३५ हजार रुपैयाँ आयकर संकलन भएको थियो । 

सुदूरपश्चिममा मुल्य अभिवृद्धि कर र अन्तः शुल्क संकलन पनि बढेको छ । तथ्यांकअनुसार मुल्य अभिवृद्धि कर ७.२८ प्रतिशत र अन्तः शुल्क २.६९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष दुई अर्ब ३३ करोड ८६ लाख चार हजार संकलन भएको मुल्य अभिवृद्धि कर गतवर्ष दुई अर्ब ५० करोड ८७ लाख ९५ हजार संकलन भएको छ । सो कर १७ करोड एक लाख ९१ रुपैयाँले बढी संकलन भएको हो ।

यसैगरी, तीन करोड छ लाख ९७ हजार रुपैयाँले वृद्धि भएको अन्तः शुल्क संकलन गत आर्थिक वर्ष एक अर्ब १७ करोड ३० लाख एक हजार रुपैयाँ संकलन भयो भने त्यसअघिको वर्ष एक अर्ब १४ करोड २३ लाख चार हजार संकलन भएको थियो । 

तर, व्याजकर, बहालकर, स्वास्थ्य सेवा कर, शिक्षा र अन्य कर भने सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष स्वास्थ्य सेवा, शिक्षा र अन्य कर संकलन नै भएको छैन भने सबैभन्दा बढी व्याजकर २९.२२ प्रतिशतले र बहालकर यसवर्ष ३.१४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष पाँच करोड ८९ लाख ७७ हजार संकलन भएको बहालकर गतवर्ष पाँच करोड ७१ करोड २७ हजार संकलन भएको छ । अघिल्लो वर्ष पाँच करोड ६३ लाख ३४ हजार संकलन भएको व्याजकर गत आर्थिक वर्षमा भने तीन करोड ९८ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ । सुदूरपश्चिम प्रदेशमा लक्ष्यभन्दा बढी संकलन भएको ब्याज कर मात्रै हो ।

प्रदेशमा आन्तरिक राजस्व संकलन गर्ने छ वटा कार्यालयहरुलाई तीन करोड ४४ लाख ६० हजार रुपैयाँ व्याज कर संकलन गर्ने लक्ष्य पाएकोमा ११६ प्रतिशत संकलन गरेका छन् । ती कार्यालयहरुले आयकर ८०, बहालकर ५९, मुल्य अभिवृद्धि कर ८२, अन्तः शुल्क ७९ प्रतिशत संकलन गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा गतवर्ष आयकर, बहालकर, मुल्य अभिबृद्धि कर र अन्तः शुल्क संकलन बृद्धि भएको आन्तरिक राजस्व कार्यालय कैलालीका कर अधिकृत छत्रबहादुर माझीले बताए । प्रदेशमा रहेका कर संकलन गर्ने कार्यालयभन्दा बढी संकलन गर्दै आएको आन्तरिक राजस्व कार्यालय धनगढीले गत वर्ष दुई अर्ब ८७ करोड ७७ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ । 

सो कार्यालयले अघिल्लो वर्ष तीन अर्ब ३० करोड ५३ लाख ७८ हजार रुपैयाँ संकलन गरेको थियो । सो कार्यालयलाई तीन अर्ब ५३ करोड ५६ लाख ५८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा ८१.३९ प्रतिशत संकलन गरेको हो । उक्त कार्यालयले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिका, कैलारी र चुरे गाउँपालिका गरी पाँच स्थानीय तहबाट राजस्व संकलन गर्ने गरेको छ ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले दुई अर्ब ४१ करोड ७९ लाख ४५ हजार रुपैयाँ संकलन गरेको छ । कञ्चनपुर जिल्लाभरीको कर संकलन गर्ने गरेको सो कार्यालयले अघिल्लो वर्ष दुई अर्ब ३९ करोड तीन लाख १० हजार रुपैयाँ संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा उक्त कार्यालय दुई करोड ७६ लाख ३४ हजार (१.१६ प्रतिशत) बढी राजश्व संकलन गरेको छ । सो कार्यालयका कर अधिकृत थानेश्वरप्रसाद पनेरुले आयकर, मुल्य अभिबृद्धि कर र अन्तः शुल्क मात्रै संकलन भएको जनाए ।

यसैगरी, डडेल्धुरा, बैतडी, दार्चुला र बुझाङ जिल्लाको कर संकलन गर्ने आन्तरिक राजस्व कार्यालय डडेल्धुराले अघिल्लो वर्षभन्दा १३.३८ प्रतिशतले कर वृद्धि भएको जनाएको छ । कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले आयकर, बहालकर, ब्याज कर, मुल्य अभिबृद्धि कर र अन्तः शुल्क वृद्धि भएको जनाए । उनका अनुसार अघिल्लो वर्षभन्दा गतवर्ष आयकर १३.३९, बहालकर ०.३५, ब्याज कर १०६.३३, मुल्य अभिबृद्धि कर १.५५ र अन्तः शुल्क २०.१८ प्रतिशतले वृद्धि भएको छ । 

डडेल्धुराले एक अर्ब १५ करोड ५७ लाख ८२ हजार रुपैयाँको लक्ष्य पाएकोमा गत आर्थिक वर्ष ९४ करोड ९४ लाख २७ हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्ष ८७ करोड एक लाख २७ हजार संकलन गरेको थियो । कुल सात करोड ९७ लाख रुपैयाँले कर वृद्धि भएको प्रमुख आचार्यले बताए ।
 

प्रतिक्रिया