धनगढी । ०८१ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा धारिलो हतियार प्रहार गरेर ३० वर्षीया ज्योती बिष्टको हत्या भयो । हत्या आरोपमा बिष्टका ४९ वर्षीय श्रीमान नरेन्द्र बिष्ट पक्राउ परे । हत्या आरोपी बिष्ट प्रहरीका पूर्वअसई हुन् । उनले जेठी श्रीमतीको निधन भएपछि ज्योतीसँग दोस्रो बिहे गरेका थिए । सोधपुछका क्रममा उनले घरसायी विवादमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए ।
०८१ कात्तिक ९ गते कञ्चनपुरमा एक दम्पती मृत फेला परे । लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत फेला परेका थिए । प्रहरीको अनुसन्धानले दुबै जनाको हत्या भएको खुल्यो । हत्या आरोपमा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने ५२ वर्षीय गंगाराम रानालाई पक्राउ परे । बडायक दम्पतीले मदिरा पसल सञ्चालन गर्दै आएका थिए । मदिरा खरिद गर्न जाँदा नदिएपछि आवेगमा आएर हत्या गरेको रानाले स्वीकार गरेका थिए ।
०८१ मंसिरमा बेलौरी नगरपालिका–६ भुराकोट बस्ने ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी ४३ वर्षीया श्रीमती जनककुमारी राना पक्राउ परिन् । प्रहरीसंगको सोधपुछका क्रममा जनककुमारीले श्रीमान–श्रीमतीबीच झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इट्टाले टाउकोमा हानी घटना आफूले गरेको भन्दै स्वीकार गरेकी थिइन् ।
०८२ वैशाख १७ गते घर नजिकै सडक छेउमा लालझाडी गाउँपालिका– ४ जाई सिगलपट्टी शिविरका रामरेशर राना मृत फेला परे । भारतमा मजदुरी गर्दै आएका राना घर फर्केको १५ दिनमा मृत फेला परेका थिए । अनुसन्धानका क्रममा रानाको पनि हत्या भएको खुल्यो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार रानाकी श्रीमती माया, उनका प्रेमी बेलौरी नगरपालिका–४ का पुन्ना राना र लालझाडी गाउँपालिका–४ की मानमती चौधरी रानाको हत्यामा संलग्न रहेको जानकारी दिए । बेलौरी–४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती मायाबीच अनैतिक सम्बन्धले घटना निम्त्याएको प्रहरीको निष्कर्ष छ ।
वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासंग आफ्नै घरमा देखेपछि झगडा भएको थियो । श्रीमानश्रीमतीबीच हातपात हुन थालेपछि बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गर्दा उनको मृत्यु भएको बयान पुन्नाले प्रहरीसमक्ष दिएका छन् । प्रहरीका अनुसार घरबाट रामरेशरको शवलाई सडक छेउमा फाल्न माया र मानमतीले पनि सघाएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार कञ्चनपुर जिल्लामा हत्या र हत्या प्रयासका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै १० जनाको हत्या भएको छ । यस्तै ज्यान मार्ने उद्योगमा २५ वटा मुद्धा एक वर्षमा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार जिल्लामा घरेलु झगडा, कुटपिट र पारिवारिक कलहले सुरक्षामा चुनौती थपिदिएको छ । ती कारणले नै हत्याका घटना पनि निम्त्याइरहेको प्रहरीको बुझाई छ ।
तीन वर्षमा लागुऔषधसहित पक्राउ परे ८४५ जना
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा लागुऔषधमा मुद्दा दर्ता दर वृद्धि भइरहेको छ । आर्थिक वर्ष ०७९/८० मा २ सय ९३ जनाविरुद्ध एक सय पाँच मुद्दा, ०८१/८२ मा दुई सय ८७ विरुद्ध एक सय ८१ र गत आर्थिक वर्ष ०८१/८२ मा दुई सय ६५ जनाविरुद्ध एक सय ७७ मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । तीन वर्षको अवधिमा आठ सय ४५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले लागुऔषधविरुद्धमा एकातिर मुद्दा अर्कातिर सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । उनका अनुसार विद्यार्थीदेखि समुदायमा लागुऔषध निर्मुल गर्नका लागिसमेत कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रतिक्रिया