ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विश्वकै अग्लो धार्मिक गन्तव्यको सम्भावना: बडीमालिकाको आस्था, प्रकृति र पर्यटन विकास

आइतबार ११, साउन २०८२ ०४:१४

नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडीमालिका मन्दिर धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थल हो । समुद्री सतहबाट करिब ४२२० मिटरको उचाइमा अवस्थित यो मन्दिर सम्भवत् विश्वकै सबैभन्दा अग्लो धार्मिक गन्तव्य हो । 

यसले न केवल धार्मिक आस्थाको केन्द्रको रूपमा भूमिका निर्वाह गर्छ, नेपालकै पर्यटन विकासको सम्भावनालाई पनि उजागर गर्छ । बडीमालिका मन्दिर सुदूरपश्चिमका नौ भगवतीमध्ये एक हुन्, जसको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ । यस मन्दिरको उत्पत्ति स्वस्थानी व्रतकथासँग जोडिएको छ, जहाँ सतीदेवीको बायाँ कुम पतन भएको स्थानलाई शक्तिपीठको रूपमा मानिन्छ। यसै कारण मल्लागिरी पर्वतलाई मालिका भनिन थालिएको हो ।

बडीमालिका मन्दिरमा प्रत्येक वर्ष श्रावण शुक्ल चतुर्दशीका दिन विशेष पूजासहित मेला लाग्ने गर्छ । यस मेलामा बाजुरा जिल्लाका विभिन्न स्थानहरूबाट मात्र होइन, सुदूरपश्चिमका अन्य जिल्लाहरू—जस्तै अछाम, डोटी, बझाङ, दैलेख, जाजरकोट, मुगु, हुम्ला, जुम्ला, कालिकोट—बाट पनि धामीझाँक्री, तीर्थालु तथा पर्यटकहरू आउने गर्छन् । भारतलगायत अन्य मुलुकबाट समेत भक्तजनहरू आउने गरेका छन् । जनैपूर्णिमा, दशहरा, चतुर्दशी–पूर्णिमाको धार्मिक यात्रा, नाटेश्वरी मन्दिरमा रक्षा धारणा र बली दिने परम्पराले धार्मिक यात्रालाई सम्पूर्णता प्रदान गर्छ ।

धार्मिक मान्यतासँगै बडीमालिका क्षेत्र प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । हरियाली डाँडाकाँडा, विशाल समथर फाँट, हिमालको दृश्य, दुर्लभ वन्यजन्तु र बहुमूल्य जडीबुटीहरूले यो क्षेत्रलाई प्रकृतिको अनुपम उपहार बनाएको छ । यहाँ पाइने प्रमुख वनस्पति र जडीबुटीहरूमा लौठसल्ला, गोब्रेसल्ला, गदाल्नो, वनलसुन, सुगन्धवाल, हातेजडी, शिलाजित आदि समावेश छन् । वन्यजन्तुहरूमा हिमचितुवा, नाउर, हिमाली भालु, डाँफे, झारल, घोर आदि पाइन्छन् । बडीमालिकाको समथर फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलले यहाँको रमणीयता अझ बढाएको छ ।

बडीमालिका पुग्नका लागि विभिन्न मार्गहरू छन् । काठमाडौँबाट धनगढी हुँदै मार्तडी पुग्न सकिन्छ । नेपालगञ्ज वा सुर्खेतबाट कोल्टीसम्म हवाई सेवा उपलब्ध छ, त्यसपछि सडकमार्फत मार्तडी पुग्न सकिन्छ । मार्तडीबाट करिब दुई–तीन दिनको पैदल यात्रा पछि बडीमालिका पुग्न सकिन्छ । बाटोमा उकाली–ओराली, चिप्लो, भीरपहरा र भन्ज्याङ पार गर्नुपर्ने भएकाले यात्रालाई साहसिक मानिन्छ। यात्राका क्रममा विशाल फाँट, हरियाली खेत, हिमालको दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछ ।

तर, यहाँको पूर्वाधार अवस्था भने कमजोर छ । बस्ने तथा खाने उचित व्यवस्था नभएकाले भक्तजन तथा पर्यटक आफैँले खानपिन तथा बासस्थानको व्यवस्था गर्नुपर्ने हुन्छ । धर्मशालाको सीमित व्यवस्था छ, तर पर्याप्त छैन। बाटोमा औषधि, भाँडाकुँडा, ओच्छ्याउने कपडा, पकाउने सामग्री बोकेर यात्रा गर्नुपर्ने भएकाले चुनौतीपूर्ण हुन्छ। यसले धार्मिक पर्यटनको सम्भावनालाई सीमित बनाएको छ ।

धार्मिक पर्यटनको दृष्टिकोणले बडीमालिका क्षेत्र अत्यन्त सम्भावनायुक्त छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक पर्यटनबाट स्थानीय आय सृजनाको बलियो सम्भावना छ । त्रिवेणी तथा बडीमालिका नगरपालिकाको नेतृत्वमा एकीकृत व्यवस्थापन आवश्यक छ । होटल व्यवसायी, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रको संलग्नतामा कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा भूमिका निर्वाह गर्न सकिन्छ ।

सुदूरपश्चिमका नौ भगवती मन्दिरहरूलाई एक बृहत् पर्यटकीय सर्किटमा परिणत गर्दै ट्रेकिङ रुट बनाउन सकिन्छ । बडीमालिका, शैलेश्वरी, उग्रतारा, त्रिपुरा सुन्दरी, मेलौली, निगालासैनी, सुरमा, गोदावरी मन्दिरहरूलाई समेटेर धार्मिक पर्यटन सर्किटको विकास गर्न सकिन्छ । यस सर्किटमा होमस्टे, सुरक्षित शौचालय, पर्यटन सूचना केन्द्र, चेकपोस्ट, आपतकालीन स्वास्थ्य सेवा, डस्टबिन जस्ता पूर्वाधार आवश्यक छन्। स्थानीय युवालाई पर्यटक गाइड, होटल व्यवस्थापन, भाषा तालिम दिई रोजगारी सृजना गर्न सकिन्छ ।

बडीमालिका क्षेत्र वातावरण विज्ञान, भूगर्भ विज्ञान, वनस्पति विज्ञान आदिका विद्यार्थीका लागि स्थलगत अध्ययनको केन्द्र बन्न सक्छ ।  विश्वविद्यालयहरूसँग सहकार्य गरी अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सकिन्छ। यसले शैक्षिक पर्यटनलाई पनि प्रवर्द्धन गर्नेछ ।

स्थानीय सहभागिता र समावेशी विकासमा विशेष जोड दिँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छ । परम्परागत वास्तुकला, मन्दिर संरचना, सांस्कृतिक मूल्यको पुनःस्थापना गर्न सकिन्छ। अन्तरपालिका समन्वयमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै धार्मिक पर्यटनलाई दिगो स्रोतको रूपमा विकास गर्न सकिन्छ ।

नेपाल विश्वकै प्रमुख धार्मिक देशहरूमध्ये एक हो । पाशुपतिनाथ, माया देवी मन्दिर, जनकपुरको जानकी मन्दिर, मुक्तिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ स्तूप, चाङ्गुनारायण, मनकामना, गढीमाई, शश्वतधाम, बुद्दनाथ, दन्तकाली, गोकर्णेश्वर, तलेजु, बग्लामुखी, बिन्ध्यवासिनी, दक्षिणकाली जस्ता मन्दिरहरू नेपाललाई धार्मिक पर्यटनको केन्द्र बनाउँछन् । बडीमालिका मन्दिरले यस सूचीमा सम्भवत् सबैभन्दा अग्लो धार्मिक गन्तव्यको रूपमा विशेष स्थान ओगट्न सक्छ।
धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्न सकिन्छ । बाजुरा जिल्लाका बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन धार्मिक पर्यटन एक महत्वपूर्ण माध्यम बन्न सक्छ । विद्यमान नीति, कानुन र प्रक्रियाअनुसार धार्मिक पर्यटनलाई व्यवस्थित तवरबाट प्रवर्द्धन गर्न आवश्यक छ । बडीमालिका क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन गर्नका लागि एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी सोको कार्यान्वयन गर्न अत्यावश्यक छ ।

अन्ततः, बडीमालिका मन्दिर केवल धार्मिक आस्थाको केन्द्र होइन, सुदूरपश्चिम प्रदेशको समग्र विकासको सम्भावनाको स्रोत हो। आस्था, प्रकृति, संस्कृति र विकासको समन्वयमार्फत बडीमालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने समय आएको छ । बडीमालिका माताले सबैको कल्याण गरुन् ।

प्रतिक्रिया