धनगढी । २३ भदौमा जेनजी पुस्ताले आन्दोलनको सुरुवात गर्यो । भ्रष्टाचार र बेथितिविरुद्व सडकमा उत्रिएका जेनजी पुस्तामाथि पहिलो दिन नै राज्यबाट दमन भयो । संघीय राजधानी काठमाडौंमा मात्रै १७ जना मारिए । सोही दिनबाट हराएका थिए, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका– २ सुपाना गाउँका २१ वर्षीय ओजन बुढा ।
जेनजी आन्दोलनमा सहभागी हुन चाबहिलस्थित कोठाबाट निस्केपछि उनी सम्पर्कविहीन भएका थिए । त्यसको चार दिनपछि उनी मृत फेला परे । भदौ २७ मा उनलाई बीएन्डबी अस्पतालमा आफन्तहरूले मृत अवस्थामा फेला पारेका थिए ।
बाजुराको विकटमा पर्ने सुपान गाउँका मअडीपाल बुढाका माइला छोरा थिए, ओजन । उनी काठमाडौंको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए । ओजनका परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । मअडीपालले भारतमा मौसमी मजदुरी गरेर जहान पाल्थे । आयआर्जनका अन्य उपाय नभएकाले छोराहरूलाई उच्च शिक्षा पढाउने अवस्था थिएन । मअडीपालकै अनुरोधमा योजनलाई कक्षा ३ देखि नै कोल्टी घर भएकी शारदा सिंहले आश्रय दिएर एसईईसम्म पढाएकी थिइन् ।
प्लस टु पढ्नका लागि ओजन आफैं काठमाडौं गए । काठमाडौंमा पुगेपछि कानुन विषय लिएर प्लस टु गरे । पढाइलाई निरन्तरता दिनका लागि उनी पाएको जुनसुकै काम गर्दै डेरा गरेर पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए ।
प्रदर्शनका क्रममा बेपत्ता भएका ओजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा अस्पतालमा शव भेटिएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए । ओजनको मृत्युको खबर पाउनेबित्तिकै गाउँपालिकाले नै उनका बुबा मअडीपाल र आमा चौपतालाई काठमाडौं पु¥याउन सहजीकरण गरेको थियो । २८ भदौमा अभिभावकले शव बुझेर दाहसंस्कार गरेपछि अहिले बुबाले पशुपतिमै काजकिरिया गरिरहेका छन् ।
प्रतिक्रिया