धनगढी । १८औं संस्करणको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु हुने महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आज दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ ।
संघले महोत्सवको तयारी पूरा भएको जनाएको छ । संघका महासचिव ओम बिष्टले महोत्सवमा पाँच सय ३१ वटा स्टल राखिएका जानकारी दिए ।
महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने संघको अनुमान छ । संघले कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका स्टलहरु रहने जनाएको छ ।
व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ ।
महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट लाग्ने छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव बिष्टले बताए ।
को–को आउँदैछन् कलाकार ?
महोत्सवमा आउने कलाकारको पनि टुंगो लगाइएको आयोजकले जनाएको छ । कलाकार संयोजक मिलन कुँवरका अनुसार यसपटक महोत्सवमा नायक पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, रामचन्द्र काफ्ले, बद्री पङगेनी, चक्र बम, टंक तिमल्सीना, रमेशराज भट्टराई, खेम सेन्चुरी, रामजी खाण, हिमाल सागर, चेतन बोहरा, सुनिल नेपाली, टेक बिसी, लालबहादुर धामी, विनोद बाजुरेलीको प्रस्तुती रहने जानकारी दिए ।
यस्तै, कलाकार यज्ञराज उपाध्याय, कोष खड्का, अविशेख खड्का, आरके थारु र सौगात ओझाको पनि महोत्सवमा आउने टुंगो लागिसकेको उनले बताए ।
यस्तै गायीका अस्मिता अधिकारी, अनु चौधरी, जुनु काफ्ले, रेखा जोशी, रचना रिमाल, एलिना चौहान, अस्मिता दर्लाकोटी, अस्मिता जुरेली, अञ्जु कुस्मी, मञ्जु पौडेल, शोभा त्रिपाठी, अनिता चलाउने, शिलत शर्मा, एन्जिला रेग्मी पनि महोत्सवमा आउने कुँवरले जानकारी दिए ।
प्रतिक्रिया