धनगढी । कैलाली कारागारमा कैदीबन्दीका दुई समूहबीच बर्चश्वको विवादका कारण चालु आर्थिक वर्षका लागि चौकीदार, नाइके र सहनाइके चयन हुन सकेका छैनन् । आर्थिक वर्षभरि कारागारको बन्दीगृहभित्रको आन्तरिक प्रशासन सञ्चालन गर्न कैदीबन्दीमध्येबाटै चौकीदार, नाइके र सहनाइकेहरु छानिन्छन् ।
प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतको नेतृत्वमा जेलर र प्रहरी प्रतिनिधि सदस्य रहने तीन सदस्य समितिले असार मसान्तभित्र चौकीदारको नाम कारागार विभागमा सिफारिस गर्ने र विभागले चौकीदार तोक्ने व्यवस्था छ । कारागारमा चौकीदार एक जनामात्र हुन्छन् भने जेलरले २५ जना कैदीबन्दी बराबर एक जना नाइके र १० जना कैदीबन्दी बराबर एक सहनाइके तोक्ने अधिकार छ ।
कैलाली कारागारमा भने साउन मसान्त सकिनै लाग्दा पनि चौकीदारको नाम सिफारिस भएको छैन । कारागार प्रशासनका अनुसार अहिले गत वर्षकै चौकीदार र नाइकेहरुले आन्तरिक प्रशासन चलाइरहेका छन् । बन्दीगृहभित्रको सम्पूर्ण आन्तरिक प्रशासनको नेतृत्व चौकीदारले गर्छन् भने नाइके र सहनाइके सहयोगीको भूमिकामा हुन्छन् ।
कारागार स्रोतका अनुसार कैदीबन्दीका दुई समूहबीचको आन्तरिक टकरावका कारण चौकीदार र नाइके चयन हुन नसकेका हुन् । ०७८ कार्तिक २३ गते कैलालीको टीकापुरमा २३ वर्षीय भूपेन्द्र बडुवाललाई एक समूहले लखेटीलखेटी धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । उक्त हत्या काण्डमा नविन रावलसहित १९ जना पक्राउ परेका थिए भने अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । अहिलेसम्म जिल्ला कारागारमा रावल नेतृत्वको यही समूहको रजगज थियो ।
उक्त घटनाका १४ जना कैदीलाई कारागार प्रशासनले गत असारमा दाङ, भैरहवा र बर्दिया कारागारमा स्थानान्तरण ग¥यो । थप तीन जनालाई गत बिहीबार स्थानान्तरण गरेपछि नविन समूह कमजोर भयो । ‘नेतृत्व गर्नेहरुको सरुवा भएसँगै नविन समूह कमजोर बनेपछि यसअघि दबिएर रहेको जयन्द्र समूह जुर्मुराउन थाल्यो,’ कारागार सुरक्षा स्रोतले भन्यो, ‘त्यहीँ कारण पछिल्लो समय कारागारमा एकपछि अर्को झडपका घटनाहरु भएका हुन् ।’
गत शुक्रबार राति भएको हिंसात्मक घटनामा एक कैदीबन्दीको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका थिए । सुरक्षा स्रोतका अनुसार आफ्नो समूह कमजोर नरहेको देखाउन बन्दीगृहभित्र ब्लक ‘ए’मा रहेका नविन समूहले ब्लक ‘बी’ मा रहेका कैदीबन्दीमाथि मध्यराति आक्रमण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले आन्तरिक प्रशासन कसले चलाउने भन्ने विषयको विवादले कारागारभित्र घटना भएको बताए । घटनापछि जिल्ला प्रशासन कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘कारागारभित्रको आन्तरिक व्यवस्थापनमा नेतृत्व कसले लिने भन्ने सन्दर्भको लडाइले झडप भएको हो ।’
त्यसअघि बिहीबार राति पनि दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए । कारागार प्रशासन स्रोतका अनुसार एक समूहबाट चौकीदार तोक्दा अर्को समूहले नमान्ने र झडपको स्थिति आउनसक्ने देखेर नै चौकीदार तोक्न ढिलाइ भएको हो ।
जिल्ला कारागारभित्र करिब सात सय कैदीबन्दी छन् । घटनापछि आएका जेलर जलान्धर भुसालले चौकीदार र नाइके तोक्नेबारे अहिले छलफल नभएको बताए ।
प्रतिक्रिया