धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा पर्यटन पूर्वाधार निर्माण उच्च प्राथमिकतामा रहेको बताएका छन् ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बुधबार धनगढीमा भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगती समीक्षा गोष्ठी उद्घाटन गर्दै उनले बाजुराको बडिमालिकामा आवागमनलाई सहज बनाउन रेलिङ सहितको पदमार्ग बनाउन प्राथमिकता दिइएको बताए ।
उनले चालुआर्थिक वर्षभित्रै सो निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयका सचिवलाई प्राविधिक टोली खटाउन निर्देशन दिए । यसपालीको जनैपूर्णिमामा बडिमालिका पुगेका दुई जना दर्शनार्थीको भिरबाट लडेर मृत्यु भएको थियो भने धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी राना पनि लडेर घाइते भइकी छन् । सो घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले बडिमालिका जाने र फर्किने बाटोमा रहेको अप्ठेरोभिरहरुमा यसै वर्ष रेडिङ सहितको ट्रेल बनाउनुपर्ने बताएका हुन् ।
मन्त्रालयले तीन वर्षदेखि बडिमालिका जाने र फर्किने बाटोमा रेलिङ सहितको पदमार्ग बनाउन बजेट विनियोजन गर्दै आएपनि उल्लेखनीय काम हुन सकेको छैन ।
उनले पूर्वाधार विकासका साथै प्रदेशको पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गर्नुपर्ने बताए । उनले कतिपय पूर्वाधरा निर्माण भइसकेको बताउँदै प्रचार प्रसारको अभावमा सुदूरपश्चिममा पर्यटक आगमन हुन नसकेको बताए ।
प्रतिक्रिया