ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रादेशिक अस्पतालका रुपमा चल्यो बयालपाटा, ६५ कर्मचारी नियुक्त

सोमबार ०२, भदौ २०८२ ०६:१८

धनगढी । अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सुदूरपश्चिम प्रदेशको पहिलो प्रादेशिक अस्पतालका रुपमा बयालपाटा अस्पताल सञ्चालनमा आएको हो । लामो समय न्याय हेल्थ नेपालले सञ्चालन गरेको उक्त अस्पताललाई प्रदेश सरकारले अस्पताल व्यवस्थापन गर्न संचालन तथा व्यवस्थापन गर्न गठन आदेश ल्याएर सेवा दिन थालेको हो । 

प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएसंगै अस्पतालका लागि कर्मचारी पनि नियुक्त गरेको छ । अस्पतालमै कार्यरत कर्मचारीहरुबाट आन्तरिक प्रतिस्पर्धा गराउँदै ६५ जना कर्मचारी नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मेडीकल अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, सर्भिलेन्स अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, फार्मेशी साहायक, ल्याब टेक्निसियन, रेडीयोग्राफर, एनेस्थेटीक साहायक कम्प्युटर अपरेटर, अहेव, अनमी, कोल्डचेन सहायक, हलुका सवारी चालक, सरसफाईकर्मी, सुरक्षागार्ड  र कार्यालय सहयोगी नियुक्त गरिएको हो । 

प्रदेश सरकारले अस्पताल व्यवस्थापन गर्न संचालन तथा व्यवस्थापन गर्न गठन आदेश ल्याएर मन्त्रीपरीषद्बाट अस्थायी दरबन्दी स्वीकृत गरेको थियो । उक्त गठन आदेशअनुसार आन्तरिक प्रतिस्पर्धाबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने छ । अब खुला प्रतिस्पर्धाको लागि विज्ञापन गर्ने तयारी भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पतालका लागि अस्पताल निर्देशक नियुक्त गर्ने पनि तयारी गरेको छ ।

प्रतिक्रिया