ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा विश्वविद्यालय : ऐन आयो, अगाडि बढेन सञ्चालनको प्रक्रिया

मङ्गलबार ०३, भदौ २०८२ ०७:३७

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रतिनिधिसभाबाट पारित हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशन भइसकेको छ । असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशन भएको ऐन प्रमाणीकरण भएको ३१औं दिनदेखि प्रारम्भ हुने भनिएको छ । तर, ऐन प्रमाणीकरण भएको दुई महिना पुग्नै लाग्दासम्म पनि कैलालीको गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि भने कुनै काम हुन सकेको छैन । 

ऐनअनुसार न त विश्वविद्यालयमा नियुक्तिको प्रक्रिया अगाडि बढेको छ न त विश्वविद्यालयको कार्यालय र इकाइ स्थापनाको काम भएका छन् । ऐन आइसके पनि विश्वविद्यालय स्थापनाका लागि कुनै काम अगाडि नबढेपछि सुदूरपश्चिमवासी भने संशकित हुन थालेका छन् । जेठ ४ गते प्रतिनिधिसभाबाट पारित दशशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको थिए ।

सोही दिन ऐन राजपत्रमा प्रकाशन भएको थियो । तर, ऐन आएको दुई महिनासम्म विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेकोमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले चिन्ता व्यक्त गरे । ‘सुदूरपश्चिमका जनताको प्रत्यक्ष जिनवनस्तरसँग जोडिने आयोजनासमेत भएको हुँदा सुदूरपश्चिमका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन गर्न आवश्यक बजेट, जनशक्ति र उपकरणहरुको आवश्यकतालाई यथाशिघ्र व्यस्थापन गर्न आवश्यक रहेको छ,’ पाण्डेयले भने ।

संघर्ष समितिले सोमबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि ध्यानाकर्षण गराएको छ । सुदूरपश्चिमको मुख्यमन्त्री स्वास्थ्य विज्ञान विश्वविद्यालयको विश्वविद्यालय सभामा पदेन सदस्य रहने व्यवस्था छ ।

‘विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए बमोजिमका पदाधिकारीहरुको नियुक्तिको प्रक्रिया तथा चालु आर्थिक वर्षभित्रै एमबीबीएसका लागि सिट संख्या निर्धारणको प्रक्रिया अगाडि बढ्नुपर्छ,’ पाण्डेयका अनुसार मुख्यमन्त्री शाहलाई संघर्ष समितिले भनेको छ, ‘प्रयोगात्मक अभ्यासका लागि छ सय शय्याको अस्पताल निर्माणका लागि बनेको उक्त संरचनामा कम्तिमा यसै आर्थिक वर्षमा तीन सय शय्याको अस्पतालको संगठनात्मक व्यवस्थापन तथा सर्वेक्षण अगाडि बढाउन संघीय सरकार समक्ष पहल गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेका छौं ।’

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले संघ सरकारसँगको संवाद र छलफलबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशिलता प्रदान गर्ने बताए । ‘संघ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनको काम अगाडि बढ्छ,’ मुख्यमन्त्री शाहले भने । 

गेटामा १ कात्तिक ०८० देखि स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शय्याको अस्पताल सञ्चालनमा छ । गेटामा झण्डै सात अर्बको लगानीमा छ सय शय्याको अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि भौतिक संरचना तया छन् । तर, निर्माण भएको लामो समयसम्म संरक्षण नहुँदा ती आलिसान भवन जीर्ण बन्न थालेका छन् । 

विश्वविद्यालय सञ्चालन नभएपछि अहिले उक्त क्षेत्रमा टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले अस्पताल क्षेत्रमा टिकटक बनाउनेको भीड हुन थालेपछि सार्वजनिक सूचना नै जारी गरेर अस्पताल हाताभित्र अनावश्यक भीड नगर्न आग्रह गरिएको छ । 

 

प्रतिक्रिया