ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा विश्वविद्यालय: मन्त्रीमार्फत १० शय्याको इमर्जेन्सी उद्धाटनको तयारी, आन्दोलनमा स्थानीय

बुधबार ०४, भदौ २०८२ ०२:१४

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति फेरि आन्दोलनमा उत्रिएको छ । प्रतिनिधिसभाबाट ऐन पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गर्दै राजपत्रमा प्रकाशन भएको दुई महिनासम्म पनि विश्वविद्यालय सञ्चालनमा बेवास्ता भएको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । समितिले बुधबार विश्वविद्यालयमा विरोध प्रदर्शन गरेका छन् । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाएर १० शय्याको आकस्मिक कक्ष उद्धाटन गर्न मन्त्री आउने जानकारी पाएपछि आन्दोलित हुनुपरेको बताए । ‘ऐन तयार छ, ऐनअनुसार तीन महिनाभित्र नियुक्तिका प्रक्रिया पूरा गर्नुपर्ने छ,’ संयोजक पाण्डेयले भने, ‘ तीन सय शय्याको अस्पताल र चिकित्सा शिक्षा अध्यापनको सुरुवात गर्नुको सट्टा नाम मात्रको ५० शय्याको अस्पतालमा १० शय्याको आकस्मिक कक्ष उद्धाटनका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेल आउँदै हुनुहुन्छ । यसको विरोधमा हामी फेरि आन्दोलित भएका हौं ।’

चिकित्सा शिक्षा र छ सय शय्याको अस्पताल सञ्चालनका लागि गेटामा झण्डै सात अर्बका संरचना तयार गरिएको छ । त्यहाँ १ कात्तिक ०८० देखि स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ । मन्त्री पौडेलले सोही अस्पतालमा १० शय्याको आकस्मिक कक्ष उद्धाटन गर्ने कार्यक्रम रहेको गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । 

मन्त्री पौडेल बुधबार १२ बजे धनगढी पुग्ने कार्यक्रम तय भएको थियो । काम विशेषले मन्त्री पौडेल अब ३ बजे मात्रै धनगढी पुग्ने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ । डडेल्धुरा र डोटीमा पनि मन्त्री पौडेलले स्वास्थ्य संस्थाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया