ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा ३८४ जनामा डेंगी सङ्क्रमण

शुक्रबार ०६, भदौ २०८२ ०१:३४

काठमाडौँ । डेंगीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगी सङ्क्रमण पनि बढ्न थालेको छ । पछिल्लो एक सातामा २११ जनामा डेंगी सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ३ हजार २४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

कोशी प्रदेशमा ५६८, मधेशमा ६२, बागमतीमा ६७५, गण्डकीमा ९१४, लुम्बिनीमा ५५१, कर्णालीमा ९३ र सुदूरपश्चिममा ३८४ जनामा डेंगी सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिए । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उनले आग्रह गरे ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगी रोग लाग्छ । डेंगी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टै खोज र नष्ट अभियान सञ्चालन गरेको छ ।

सन् २०२४ मा डेंगी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।

प्रतिक्रिया