ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिममा, भारतसँगै अन्य देशमा बेचिन्छन् किशोरी

शनिबार २१, भदौ २०८२ ११:१६

कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसारका दृष्टिकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ । कञ्चनपुर भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताइन् ।

उनका अनुसार पछिल्लो समयमा जिल्लामा सीमानाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले बताइन् ।

खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको उनले उल्लेख गरिन् । 'मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो', संयोजक भट्टले भनिन्, 'यसलाई रोक्न सचेतना, समन्वय र सहकार्यनै मुख्य आधार हो ।' मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताइन् ।

'यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहँदै आएको छ', उनले भनिन्, 'यसरी बेचबिखनमा परेकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ ।'

मावन बेचबिखनजस्तो जघन्य अपराधले राष्ट्रिय मात्र होइन, अन्तरराष्ट्रिय सुरक्षा र मानव अधिकारलाई समेत गम्भीर चुनौती सिर्जना गरेको सामाजिक कार्यकर्ता हरिदत्त भट्टले बताए । उनका अनुसार, सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सीसीटीभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ ।

माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये  १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।

सीमानाकामा रोकथाम गरिएकामध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन् भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उनले जानकारी दिए ।

सोही अवधिमा माइती नेपालले सीमानाकामा १२ हजार ८३२ सवारीसाधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमानाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।

माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना  खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।

मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने विश्वास व्यक्त गरे ।

'मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबीच बलियो समन्वय र सहकार्य अपरिहार्य छ', उनले भने, 'न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारीको अवसर सिर्जना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ ।'

मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय रहेको उनी बताउँछन् ।रासस

प्रतिक्रिया