धनगढी । इजरायल र हामसबीच शान्ति सम्झौता भएसँगै बन्धक रिहाइको प्रक्रिया अगाडि बढेको छ । युद्धविराम भएसँगै हमासको नियन्त्रणमा रहेका बन्धकहरु सोमबारदेखि रिहा हुने भएका हुन् । तर, अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनद्वारा जारी सूचीअनुसार नेपालका विपिन जोशीको अवस्था अज्ञात छ ।
शुक्रबार सीएनएनद्वारा जारी सूचीमा बन्धकमध्ये दुई जना अज्ञात छन् । जसमध्ये एक विपिन जोशी छन् । बन्धकमध्ये २० जनामात्रै जीवित छन् भने २६ जना बन्धकको मृत्यु भइसकेको सीएनएनले दाबी गरेको छ ।
७ अक्टुबर २०२३ मा इजरायली भूमिमा छिरेर हमासले गरेको हमलाकै बीच २३ वर्षीय कञ्चनपुरका युवक विपिन किबुज अलुमिमस्थित आफू बसेकै घरबाट बन्धक बनाइएका थिए । विपिनसँगै विभिन्न जिल्लाका अरु नेपाली विद्यार्थी पनि इजरायल पुगेको महिना दिन नहुँदै हमासले इजरायली भूमिमा छिरेर आक्रमण गरेको थियो । जसमा १० नेपाली विद्यार्थी मारिए भने विपिन बन्धक बनाइएका थिए ।
अपहरणमा परेको दुई वर्षपछि विपिनले बोलेको एक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा उनलाई आफ्नो परिचय दिन लगाइएको छ, जहाँ उनले भनेका छन्, ‘मेरो नाम विपिन जोशी हो । म नेपालबाट आएको हुँ । मेरो उमेर २३ वर्ष भयो । म २५ दिनअघि इजरायल आएको थिएँ । म यहाँ ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ । म विद्यार्थी हुँ ।’ उक्त भिडियो करिब २३ महिनाअगाडिको हो, जसमा विपिनले आफू २५ दिनअघि मात्र नेपालबाट इजरायल आएको बताएका छन् ।
विपिन जोशी अपहरणमा परेको डेढ महिनापछि अर्थात् २२ नोभेम्बर २०२३ मा इजरायली आर्मीले गाजाको अल सिफा नाम गरेको अस्पतालमा एक युवकलाई हमासका लडाकुले लैजाँदै गरेको भिडियो फुटेज सार्वजनिक गरेको थियो । आकाशे रङको टिसर्ट, हाफपाइन्ट र चप्पलमा देखिएका ती युवक विपिन नै भएको पुष्टि परिवारले गरेको थियो ।
तर, पछिल्ला दिनहरूमा उनको अवस्था कस्तो छ ? यसबारे अझै प्रस्ट जानकारी बाहिर आएको छैन । तर, अपहरणमा परेयता उनी सकुशल छन् भनेर आशा जगाउने केही आधारहरू भने देखिन्छन् । पहिलो, २२ नोभम्बर २०२३ मा इजरायल डिफेन्स फोर्सले गाजाको अल सिफा अस्पतालमा विपिनलाई हमासका लडाकुले डो¥याएर लैजाँदै गरेको भिडियो फुटेज सार्वजनिक गरेको थियो ।
दोस्रो आशा भनेको इजरायली राजदूत शमुलिक ए वासले ल्याएको खबर हो । गत २० मंसिरमा काठमाडौंमा पत्रकारहरूसँग उनले गाजा क्षेत्रमा विपिन जीवित रहेको बताएका थिए । यो सूचना इजरायलले अरबी देशहरूबाटै पाएको राजदूतले बताएका थिए । हमाससँग कतार, इजिप्टलगायत देश निकट मानिन्छन् । इजरायलले सूचना यी देशबाटै पाएको भए विपिन सुरक्षित छन् भनेर विश्वस्त हुन सकिन्छ ।
तेस्रो भनेको, बन्दी अवस्थामै मारिएका कुनै पनि बन्धकसँग विपिनको परिवारको डीएनए म्याच नहुनु आशा बढाउने अर्को पक्ष मानिएको छ । द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, आक्रमण भएको दिन विपिनले किबुज अलुमिममा रहेको वासस्थानमा लुकेका धेरै मानिसहरूको ज्यान बचाएका थिए । झ्यालविहीन कोठाभित्र हमासले दुईवटा ग्रिनेड हानेको थियो । तीमध्ये एउटा आफ्नै हातले उठाएर विपिनले बाहिर फ्याँकेका थिए ।
विपिनको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलदेखि अमेरिकासम्म पुगेर पहल गरिरहेका छन् । २४ सेप्टेम्बरयता उनीहरू अमेरिका पुगेर विपिनको रिहाइका अनुनय गरिरहेका छन् । उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेट्ने प्रयासमा छन् । यता घरमा बुबा महानन्द जोशी २५ वर्षे छोरा सकुशल रहेको खबर सुन्न आतुर छन् ।
प्रतिक्रिया