ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मृतकका नाममा भत्ता वितरण गरेर ७३ लाख बढी झ्वाम्, वडाध्यक्षसहित आठ जनाविरुद्ध मुद्दा

शनिबार ०१, कार्तिक २०८२ ०८:१५

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट र वडा अध्यक्ष भण्डारी मिलेर ६८३ जना लाभग्राहीका नाममा झुट्टा अभिलेख बनाएर करिब ७३ लाख ३७ हजार ६२७ रुपैयाँ अपचलन गरेको पाइएको हो ।

अख्तियारको अनुसन्धान अनुसार, मृत व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता लिने अभिलेख तयार गरिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम निकालिएको पाइएको छ ।

वडा सचिव बुढाले लाभग्राहीका नाममा आफैंले ४७९ वटा औठाछाप लगाएको र कार्यालय सहयोगी कठरियाले २०४ वटा औठाछाप नक्कली रूपमा प्रयोग गरेको कुरा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको आयोगले जनाएको छ ।

मृत्युदर्ता भएका व्यक्तिका नाममा समेत नवीकरण गरी बैंक खातामा रकम पठाइएको, त्यसबापतका भरपाईमा वडा अध्यक्ष भण्डारी र अन्य जनप्रतिनिधीले प्रमाणित हस्ताक्षर गरेको पाइएको छ । अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया