ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गोदावरीका मेयर भट्टले लिए नियमविपरीत भ्रमण खर्च

आइतबार ०२, कार्तिक २०८२ १०:२२
  • महालेखाको प्रतिवेदनले भन्छ – खर्चको प्रभावकारिता सुनिश्चित भएन

धनगढी । कैलाली जिल्लामै सबैभन्दा बढी बेरुजु रहेको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नियममै नभएको भ्रमण खर्च लिएका छन् । महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनअनुसार मेयर भट्टले सो वर्ष नियमविपरीत भ्रमणको बेला गाडी भाडा र भ्रमण खर्च तीन लाख ४४ हजार ८८० रुपैयाँ लिएका हुन् । नगरप्रमुख भट्टले काठमाडौं भ्रमणमा जाँदा सवारीसाधन भाडामा लिएको र प्रत्येक पटक फुटकर खर्च र दैनिक भ्रमण भत्ता लिएको उल्लेख छ । भ्रमण खर्च नियमावलीमा भ्रमण अवधिमा छुट्टै सवारी भाडा दिन सकिने व्यवस्था नभएकोले अनिमित भएको र नियमित गर्न महालेखा परीक्षणकले भनेको छ ।

यसैगरी, नगरपालिकाले कर्मचारी र पदाधिकारीलाई भ्रमण खर्च भन्दै २७ लाख ८३ हजार २५५ रुपैयाँ भुक्तानी गरेको छ । स्पष्ट प्रयोजन र उद्देश्य बेगर अधिकांश सात दिनको समयावधी राखी भ्रमण खर्च गरेको अवस्थाबाट भ्रमण खर्च पालिकाले उच्च प्रयोजनमा उच्चतम उपयोग भएको छ भनी विस्वस्त हुने अवस्था नदेखिएको भन्दै महालेखाले खर्च भएको सुनिश्चितता गर्न भ्रमण प्रतिवेदन लिने व्यवस्था गर्न सुझाएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खर्चको प्रभावकारिता सुनिश्चित नभएको समेत उल्लेख छ ।

गोदावरीले पदाधिकारीको सुविधामा एक करोड १७ लाख ५८ हजार ५०० रुपैयाँ खर्च गरेको छ । आन्तरिक आयको आकार र कर्मचारी तथा पदाधिकारीको सुविधाबीच आवश्यक तादम्यता नमिलाई नगरपालिकाले चालु खर्च गरेको भन्दै महालेखाले मितव्ययिता अपनाउन सुझाव दिएको छ । नगरपालिकाले कर्मचारीलाई प्रोत्साहन भत्ताको नाममा ९१ लाख ५६ हजार ६२६ रुपैयाँ खर्च लेखेको छ भने पदाधिकारी तथा कर्मचारीको बैठकमा १४ लाख ६८ हजार ८५० रुपैयाँ खर्च गरेको छ ।

यसैगरी, नगरप्रमुखको स्वकीय सचिव दिलिपकुमार साउँद र नगर उपप्रमुखको स्वकीय सचिव धनबहादुर खड्कालाई नियमविपरीत सात लाख सात हजार ८५० रुपैयाँ भुक्तानी दिएको मध्ये चार लाख ९९ हजार ९५० रुपैयाँ अनियमित गरेको छ । सो खर्चलाई नियिमित गर्न महालेखाले निर्देशन गरेको छ । 
 

प्रतिक्रिया